कोहलपुर, २४ माघ
कोहलपुर नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि करोडौँ रकम रकमान्तर गरेको छ । पुस २९ गते र माघ १३ गते बसेको १२औँ नगरसभामार्फत टुक्रे योजनालाई प्राथमिकता दिँदै साढे सात करोडभन्दा धेरै बजेट रकमान्तर गरिएको हो ।
नगरपालिकाले ५७ वटा योजनाको रकम रकमान्तर गरेको छ । वडाहरुमा भौतिक संरचना निर्माणअन्तर्गत, सडक नाला निर्माण, सडक स्तरोन्नति, कालोपत्रे, शैक्षिक संस्थामा भवन निर्माण गर्ने, खेलकुद, म्याचिङलगायतको रकम रकमान्तर भएको छ । नगर सभामार्फत सात करोड ६९ लाख १७ हजार रुपैयाँ रकमान्तर गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । रकमान्तर गरिएको योजनाको बजेटको स्रोत राजस्व बाँडफाँड, आन्तरिक स्रोत र समानीकरण अनुदान शीर्षकअन्तर्गत छन् । राजस्व बाँडफाँड– स्थानीय तथा संघीय सरकार शीर्षकमा ३५ वटामा योजनामा रकमान्तर गरिएको छ । यसैगरी आन्तरिक स्रोत, नेपाल सरकार र लुम्बिनी प्रदेशबाट प्राप्त हुने बजेट छ ।

सबैभन्दा धेरै इलेक्ट्रोनिक पिक अप गाडी खरिदका लागि ७३ लाख र भैपरि आउने पुँजीगत थप शीर्षकमा ६९ लाख ६९ हजार पाँच सय ८० रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै करार सेवा शुल्क थपको लागि ३५ लाख, विद्यालय तथा सार्वजनिकस्थलमा खानेपानी, रङरोगन, पूर्वाधार निर्माण तथा खानेपानी व्यवस्था र विद्यालयका अधुरा संरचना निर्माणका लागि ३०÷३० लाख, शम्शेरगन्ज स्वास्थ्य चौकीलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नतिका लागि २९ लाख, म्याचिङ फन्ड शीर्षकमा २५ लाख, वडा नम्बर १५ जाने बाटो कालोपत्रेका लागि २० लाखदेखि न्यूनतम दुई लाख रुपैयाँसम्म छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार नगरसभाले रकमान्तरमार्फत ६ करोड नौ लाख १७ हजार रुपैयाँ घटाएको छ । उनका अनुसार रकमान्तरमार्फत रकम घटाइएका ३५ वटा योजना छन् । तीमध्ये २३ वटा योजना राजस्व बाँडफाँड, ११ वटा योजना संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान र एउटा आन्तरिक स्रोतअन्तर्गत छन् । अधिकतम ३५ लाखदेखि न्यूनतम एक लाख रुपैयाँसम्म घटाइएको छ । ढकालले चालू आर्थिक वर्षको बजेट निर्माण गर्दा गत असार महिनामा स्वीकृत योजनाबाट रकम घटाइएको बताए । उनले भने, ‘आवश्यकताका आधारमा बजेट घटाएको छ । कुनैमा सम्पूर्ण बजेट काटिएको छ । कुनैमा त्यहाँ उल्लेख गरिएअनुसार छ । केही पुरानामा थप पनि भएको छ ।’
नगरसभाबाट नेपाल सरकारको ढाँचाअनुसार नै रकमान्तर शीर्षकमा बजेट घटाउने र बढाउन मिल्ने व्यवस्था भएको भन्दै उनले बजेटलाई स्थानीय ढाँचामा बनाउन खोजिएको बताए । ‘ढाँचामा स्पष्टरुपमा कुन योजनामा बजेट घट्यो र कुनमा बढ्यो भन्ने देखिन्छ,’ उनी भन्छन्, ‘बजेट रकमान्तर गर्दा प्राथमिकताका आधारमा बजेट घटाउने र बढाउने गरिएको हो ।’ नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई केन्द्रित गरेर रकमान्त गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्