कोहलपुर, २३ माघ
काठमाडौंमा उपचार गराइरहेकी गंगाको पारिवारिक अवस्था नाजुक छ । उनको घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या नहोस् भनेर विभिन्न तहबाट सहयोग भइरहेको छ । आफ्नै श्रीमान्द्वारा शरीरमा पेट्रोल छर्किएर घाइते भएको घटना बाहिरिएदेखि उपचार र काठमाडौं लिनका लागि अग्रसरता लिइरहेको मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले गंगाको लागि उपचार खर्च जुटाउने अभियान सुरु गरेको छ । उक्त संस्थाको समन्वयमा सहयोग अभियान सुरु गरिएको हो । उक्त संस्थाकी अध्यक्ष उर्मिला अधिकारी पाण्डेले गंगाको उपचारका लागि आफ्नो संस्थाले सहयोग अभियान सुरु गरेको बताइन् ।
महिला अधिकारकर्मी पाण्डेका अनुसार उक्त सहयोग संस्थाको समन्वयमा सुरु भएको अभियानअन्तर्गत नेपालगन्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रवीण योगीले ७० हजार उपचार सहयोग गरेका छन् । योगीले आफ्ना स्वर्गीय बुवाको नाममा व्यक्तिगत ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । यस्तै उनले आफूले सञ्चालन गरेका विभिन्न प्रतिष्ठानमार्फत पनि सहयोग गरेको उनले बताइन् । डा. योगीले आफूले सञ्चालन गरेका स्वास्थ्य प्रतिष्ठानहरु बासुकी स्वास्थ क्लिनिकका तर्फबाट पाँच हजार, बासुकी फार्मेसीका तर्फबाट पाँच हजार, बासुकी अल्ट्रासाउन्ड एण्ड डाइग्नोष्टिक सेन्टरका तर्फबाट पाँच हजार र बासुकी क्लिनिक ल्याबरोटरीका तर्फबाट पाँच हजार सहयोग गरेका हुन् । गंगाका जेठाजु विकका अनुसार बिबिएस नामक औषधि सहयोग गरिहेको छ भने मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले सोमबार नगद २० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
संस्थाकी सल्लाहकार मञ्जुु रोकाय, कानुनी सल्लाहकार वीपना योगी र समाजसेवी सुमीत्रा शाहीले बिरामीलाई रकम हस्तान्तरण गरेकी थिइन् । बाँकी रकम भने बिरामी गंगाको आग्रहमा उनको बैंक खातामा हालिदिने अध्यक्ष निर्मला अधिकारी पाण्डेले बताइन् । ‘काठमाडौँमा उपचार भइरहेको छ । हिजोसम्म हामीलाई धेरै सकस थियो । अहिले सहयोग प्राप्त भएको छ । त्यसले गर्दा उपचारमा सहयोग भयो । दुवै संस्थालाई धन्यावाद दिन चाहन्छु,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । परिवारको तर्फबाट अहिलेसम्म अहिलेसम्म ३५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । हाल सामान्य अवस्थामा उपचार गराइरहेकी गंगाको पेटमा अल्सर र थाइराइडको समस्या देखिएको डाक्टरले बताएका छन् । उनलाई पूर्णरुपमा निको हुन करिब दुई महिना लाग्ने अनुमान छ ।उनको उपचारको लागि जेठाजु सिर्जनसहित गंगाकी जेठानी बिमला विक र गंगाका माइतीतर्फका मामाको छोरा नवीन तिरुवा काठमाडौँमा छन् । गंगाका जेठाजु सिर्जनले अहिलेसम्म स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्