नेपालगन्ज, २३ माघ
सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ । सोमबार मंगलप्रसाद उच्च माध्यमिक विद्यालयको खेल मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोड्यो । प्लेयर अफ द म्याच बन्न सफल भएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाए । सतक प्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भए ।
यसैगरी रकर्स लागि साहिलअन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडे । बाँके बारियर्सका सजलपुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १–१ विकेट लिए । जवाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभरमा ८४ रन बनाएर अलआउट भए । वारियर्सका राजन कश्यपले सर्वाधिक २९ रन, इमरानजसगरले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । रकर्सका रोशनकुमार साहु, साहिद अन्सारी र साहिब अन्सारीले २–२ विकेट लिए ।
प्लेयर अफ द म्याच सद्धावलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए । यसैगरी महिलातर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले चन्द्र मेवालाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको चन्द्र मेवालालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनायो । कमजोर ब्याटिङ गरेको चन्द्र मेवालालका खेलाडीले ब्याटिङ गर्दा १४ रन मात्र जोडे । उनीहरुले २६ रन अतिरिक्त पाए । टोलीका लागि स्वतिका पाण्डेले बनाएको ६ रन नै व्यक्तिगतरुपमा खेलाडीले बनाएको धेरै रन थियो ।
वलिङतर्फ प्लेयर अफ द म्याच बन्न सफल नेपालगन्ज मोडेलकी चमेली चौधरी र निरुपमा गिरीले २–२ विकेट लिए ।
जवाफमा नेपालगन्ज मोडेलले ३.२ ओभरमा बिनाविकेटको नोक्सानीमा जित हासिल ग¥यो । नेपालगन्ज मोडेलका लागि अविजित रहँदै तृष्णा सिंहले २१ र शोभाशाहीले ८ रनको योगदान दिइन् । प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फको खेलमा बिरता क्रिकेट क्लब र नेपालगन्ज च्याम्प्सले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ होलिल्यान्ड बाल शिक्षाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उपमहानगरपालिको आर्थिक सहयोगमा भइरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्