जानकीमा दादुरा–रुबेलाविरुद्धको खोप सुरु



नेपालगन्ज (बाँके),
जानकी गाउँपालिकाले दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । आइतबारदेखि ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि उक्त अभियान सुरु गरेको हो ।
१४ हजार दुई सय ६७ जना बालबालिकाहरुलाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जनाए । यो अभियान २७ गतेसम्म चल्ने छ । पछिल्लो समय बाँकेका केही स्थानीय तहका दादुरा–रुबेलाको संक्रमण देखिएको छ । जानकीसँग जोडिएको नेपालगन्ज उपमहानगरपालिकामा त दादुरा–रुबेला महामारीका रुपमा फैलिएको थियो । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ ।

रुबेला पनि भाइरस (रुबेला भाइरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्युसमेत हुन सक्छ । त्यसैले लक्षित उमेर समूहका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन प्रमुख प्रशासकीय अधिकृत डाँगीले सबैलाई अपील गरेका छन् । दादुरा–रुबेला रोगबाट बच्ने एक मात्र उपाय दादुरा–रुबेलाविरुद्धको खोप लिनु नै हो । दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षणअनुसार र जटिलताकोे उपचार गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्यरुपमा खुवाउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमबार