20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

थारु साहित्य सम्मेलनद्वारा १२ बुँदे घोषणापत्र जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २३, २०७९  

नेपालगन्ज, राष्ट्रिय थारू साहित्य सम्मेलनको सातौँ संस्करण १२ बुँदे घोषणापत्र जारी गर्दै बाँकेको राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ । थारु गोचाली समाज फत्तेपुरसँगको सहकार्यमा थारु लेखक संघ नेपालले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा माघ २० देखि आइतबार आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा थारु भाषा साहित्यको उन्नयनका लागि लेखक, सम्पादक, संघसंस्थाहरु एक भएर लाग्ने, था मातृभाषमा पठनपाठनका लागि पहल गर्ने, साहित्यको दस्ताबेजीकरण गर्ने, थारु भाष साहित्यका योगदान गर्नेहरुलाई सम्मानित र पुरस्कृत गर्ने र भाषा, साहित्य र संस्कृतिका कार्यक्रमहरु निरन्तरता दिने लगायत रहेका छन् ।


सम्मेलनमा स्थानीय सरकारका योजना, बाँकेको मातृभाषा, विकासमा बरघर, पश्चिम थरुहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु जीवन, बाँके थारु साहित्यक अवस्था, थारु साहित्यमा युवा, सिकलसेल एनिमियाको कहरलगायतका विषयमा गहन छलफल गरिएको थियो । साथै, थारु संस्कृतिक प्रदर्शनी र रचना वाचनका सेसनहरु सम्मेलनमा समावेश थिए ।
सम्मेलनमा झापादेखि कन्चनपुरसम्मका तीन सय बढी लेखक साहित्यकारहरुको भेला रहेको थियो । थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । ०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो ।

 

प्रकाशित मितिः सोमवार, माघ २३, २०७९     11:57:17 AM  |