नेपालगञ्ज (बाँके),
प्युठानका राजेन्द्र नेपाली शुक्रबार रुपैडिहा हुँदै नेपालगन्ज फर्किए । रोजगारीका लागिका कालापहाड गएका उनी आफ्नो मातृभूमि फर्किदैँ थिए । उनी तीन वर्षपछि घर फर्किएका हुन् । लामो समयपछि घर फर्किन पाउँदा उनको मनभित्र उमंग थियो । तर, उनले पराईको भूमिबाट स्वेदशमा पाइला टेक्न वित्तिकै पीडा भोगे ।
पीडा हुनुको प्रमुख कारण थियो, ‘रुपैडिहाबाट नेपालगन्ज पुष्पलाल चोक आएको भारतीय पाँच सय (नेपाली रुपैयाँ आठ सय) तिर्नु ।’ सामान्यतया अटो व्यवसायीले पुष्पलाल चोकबाट जमुनाहासम्म ५० रुपैयाँ भाडा लिन्छन् । जमुनाहबाट रिक्सावालाले ३० देखि ५० रुपैयाँसम्म भाडा लिँदै आएका छन् ।
तर विडम्बना ८० देखि एक सयसम्म लाग्ने सडक खण्डमा भारतबाट फर्किने नेपालीहरु ठगिने गरेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सोझा नागरिकहरु दैनिकजसो ठगिँदै आएका छन् । ‘म बसबाट ओर्लिनासाथ अटो चालक मतिर आएर, नेपालगन्ज भन्दै झोला समाए,’ राजेन्द्रले भने, ‘मैले उनीसँग जान मानिन । अर्काेजना आएर नेपालगन्ज भन्दै थिए । मैले बोलाएँ र उनको अटोमा सामान राखेँ ।’ अटो चालकले केही मान्छे अटोमा सवार बनाएर नेपालगन्ज पुष्पलाल चोकस्थित एक होटेलमा पु¥याए ।
राजेन्द्रसँग दुईटा झोला र अन्य केही सामान थियो । ‘भाडा कति भयो भनेर सोध्दा त भारतीय पाँच सय रुपैयाँ भन्छन्,’ उनले भने, ‘त्यति म दिन सक्दैन भन्दा उल्टै हपारे ।’ भारतबाट ल्याएको सामानसहित जोडेर अटो चालकले महँगो शुल्क लिएको उनले बताए ।
भारतीय बजार रुपैडिहाबाट नेपाल भित्रिने सोझा नेपालीहरु अटो व्यवसायीहरुले ठग्ने गरेका छन् । कतिपय अटो चालकले नेपालगन्जका होटेल व्यवसायीसँग मिलेमतोमा ठगी गरिरहेको कतिपयको भनाइ छ । ‘अटो व्यवसायी रुपैडिहा बसपार्कसम्म पुग्छन्,’ जमुनाह नाकामा भेटिएका वीरबहादुर खड्काले भने, ‘त्यहाँ पहाड जाने सामान्य सोझा मान्छेलाई हेरेर ठगी गर्छन् ।’ मान्छे हेरेर अटो व्यवसायीले ‘बार्गेनिङ’ गर्ने गरेका छन् ।
भारतबाट त्यति लामो यात्रा गर्दा नठगिने र घरभित्रअर्थात नेपालको प्रवेशद्वारमै ठगिँदा नरमाइलो लागेको राजेन्द्रले बताए । सीमा प्रहरीले भने ठगिएको सम्बन्धी कुनै गुनासो नआएको बताएको छ । गुनासो आएमा तत्काल कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्