सिद्धनगर देखि पुष्पनगर कालोपत्रे सडक : ठेकदार सम्पर्कविहीन, सडक अलपत्र



शुभाकर विश्वकर्मा,कोहलपुर

कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सिद्धनगरदेखि पुष्पनगर जोड्ने सडक अलपत्र अवस्थामा छ । कोहलपुर नगरपालिकाद्धारा ठेक्का प्रक्रियामार्फत निर्माण जिम्मा लिएको कम्पनीले काम नगर्दा सडक एक महिनायता अलपत्र अवस्थामा छ । सडक निर्माण तथा कालोपत्रे गर्ने जिम्मा लिएको दिवा ÷ यति जेवी ललिपुर काम अलपत्र छोडेर एकमहिना यता सम्पर्कविहीन छ । उक्त कम्पनीले  उक्त सडक खण्डमा डेढ किलोमीटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । निर्माणको अन्तिम चरणमा लामोसमयसम्म कालोपत्रे नहुँदा सडक अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

स्थानीय गोविन्द गुप्ताका अनुसार एकमहिना यता ठेकदार कामका लागि आएका छैनन् । उनले सडक अलपत्र अवस्थामा पुगेको र पैदल हिड्न समेत समस्या भएको बताए ।  त्यहाँ कालोपत्रेका लागि प्राइम हानिएको छ । तर लामोसमयसम्म कालोपत्रे नुहँदा सडकमा ढुंगा मात्रै देखिन्छन् ।‘कालोपत्रे नहुँदा समस्या भएको छ । नाली समेत राम्रो बनाएको छैन । सडकमा अहिले पैदल हिड्नै मिल्दैन । साना सवारीलाई समेत समस्या भएको छ । सरोकारवालाको ध्यान जाओस्,’ उनले भने ।

उक्त कम्पनीले सडकको बेस निर्माण गरेपनि कालोपत्रे गर्ने काम अधुरै छोडेको कोहलपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाका इन्जिनियर बालकृष्ण बुढाक्षेत्रीका अनुसार कम्पनीले एक महिनाअघि कालोपत्रेका लागि प्राइम हानेको थियो । चिसोको समयमा जर्वरजस्ती कालोपत्रे गर्न खोज्दा नगरपालिकाले रोकेको  उनले बताए । ‘त्यहाँ आधारभूत काम सकिएको छ । प्राइम हानेको छ । पीच गर्न बाँकी छ ।’ महातारा भन्छन्, ‘पुष महिनामा चिसोका कारण काम हुँदैन भनेर रोकेका थियौँ । अहिले छिटो काम गर्न ताकेता गरिरहेका छौँ । खै किन हो ? काम गर्न आनाकानी गरिरहेको छ । सम्पर्कमा पनि छैन ।’

उनका अनुसार काम गर्नका लागि मौखिक र लिखित रुपमा पत्राचार गर्दासमेत सम्पर्कमा नआएको उनले बताए । महतारा उक्त योजनाको म्याद समेत सकिएको बताउँछन् । दिवा ÷ यति जेवी ललिपपुरले कोहलपुर नगरपालिकामा विभिन्न पाँच वटा निर्माणका काम गर्नका लागि सम्झौता गरेको थियो ।  गत आर्थिक वर्षको पुस महिनामा सम्झौता भएको र यसवर्षको माघ महिना लागेसँगै उनको सम्झौता सकिएको उनको भनाइ छ । कम्पनीले सबै काम सम्पन्न गरेको छैन । सम्झौता नवीकरण समेत केही पनि गरेको छैन ।  लिखित रुपमा पत्राचार गर्दा समेत सम्पर्कमा नआएकाले र अब पनि कालोपत्रे गर्ने कार्य अघि नबढाएमा नगरपालिकाले प्रक्रिया पु¥याएर कारबाही प्रक्रिया अघि बढाउने उनी बताउँछन् ।

दिवा ÷ यति जेवी ललिपपुरले कोहलपुर नगरपालिकाका पाँच वटा क्षेत्रमा निर्माण जिम्मा लिएको छ । ती मध्ये वडा नम्बर ३ मा काम सम्पन्न गरिसकेको छ । वडा नम्बर ६ र ८ मा  कालोपत्रे गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । हाइस्कुल लाइन क्षेत्रमा नाली निर्माणको कामसमेत अझै सम्पन्न गर्न सकेको छैन । सिद्धनगर र पुष्पनगर क्षेत्रमा समेत अन्य काम भएपनि कालोपत्रे गर्ने काम बाँकी छ । कूल ४ करोड ९७ लाख रुपैयाँ लागतमा पाँच वटा निर्माणको जिम्मा लिएको कम्पनीले सम्झौताको म्याद सकिदासम्म काम सम्पन्न गर्न सकेको छैन ।

महाताराले अहिलेसम्म साढे दुई करोड रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिए । बाँकी काम र रकमका विषयमा छिट्टै नगरपालिकाले निर्णय गर्ने उनले बताए । फेरि काममा लगाउने की कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा केही दिनमा निधो गरिने भएको छ ।

वडा नम्बर २ का अध्यक्ष हरि कठायत पनि  काम अहिले रोकिएको अवस्थामा रहेको बताउँछन् । उनका अनुसार त्यहाँको काम गर्नको लागि ताकेता भइरहेको छ । उनले भने, ‘उहाँले प्राइम गर्नु भएको थियो । दुई हप्ता कता हराउनुभयो । फेरि आउनु भएको थियो । हामीले चिसोमा काम गर्न हुँदैन भनेका थियौ । त्यसपछि काम भएको छैन ।’ सडक निर्माणका विषयमा प्रतिक्रिया लिन पटकपटक फोन गर्दासमेत  दिवा ÷ यति जेवी ललिपुरका गोपाल आचार्य सम्पर्कमा आएनन् ।

,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतबार