16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

आधारभूत तह (कक्षा ८) : कोहलपुरमा चैत ५ देखि परीक्षा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९  

नेपालगन्ज (बाँके), १९ माघ : कोहलपुर नगरपालिकामा नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षा चैत ५ गतेदेखि सुरु हुने भएको छ । परीक्षा सञ्चालन तथा मूल्यांकन समन्वय समितिको बैठकले आधारभूत तह कक्षा ८ को परीक्षा चैत ५ गतेदेखि गर्ने निर्णय गरेको हो ।
कोहलपुरमा ४६ वटा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ पढाइ हुन्छ । यी विद्यालयका करिब साढे २६ सय विद्यार्थी उक्त परीक्षामा सहभागी हुने कोहलपुर नगरपालिकाअन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख रविलाल मिजारले जनाए ।

चैत ५ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गरिने उनले बताए । ‘चैत १७ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ,’ उनले भने, ‘त्यसभन्दा अगाडि आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गरिएन भने उत्तरपुस्तिका जाँच गर्न ढिला हुन्छ ।’ त्यसैले उपयुक्त समयमा कक्षा ८ को परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।
परीक्षाको रजिष्ट्रेसन तथा समष्टिगत फाराम माघ २० गतेदेखि फागुन १५ गतेसम्म परीक्षार्थीको फाराम भरी भराइ प्रधानाध्यापकले प्रमाणित गरी शाखामा बुझाउनु पर्ने उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, माघ २०, २०७९     8:53:51 AM  |