सहिदको सम्झनामा रक्तदान र फलफूल वितरण



मिसन संवाददाता
कोहलपुर, १६ माघ
महान् सहिदहरुको सम्झनामा कोहलपुर बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर जेसिज र कोहलपुर जुनियर जेसिजको संयुक्त आयोजनामा सहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर जेसिज जेसिज वर्ष २०२३ का अध्यक्ष धुव्र आचार्यका अनुसार ६१ जनाले रक्तदान गरेका छन् । ती मध्ये ५३ पुरुष र आठजना महिला छन् । सहिद दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ प्वाइन्ट रगत संकलन भएको अध्यक्ष आचार्यले बताए । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसालको प्रमुख आतिथ्यतामा रक्तदान पूर्व औपचारिक समारोह आयोजना गरिएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि भुसालले नेपालको इतिहासमा माघ १६ विशेष दिन रहेको बताए ।

उनका अनुसार देशमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहिदहरुले ज्यानको आहुति दिएका थिए । ऐतिहासिक दिनमा रक्तदान जस्तो पवित्र कार्य गरेको प्रति उनले आयोजकप्रति आभार प्रकट गरे । यस्तै क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले चारजनाले सहिदले ज्यानको बलिदानी गरेर जनताको अधिकार प्राप्तिका लागि गरेको योगदानको सदैब कदर हुनुपर्ने बताए ।
क्षेत्रीय सभापति केसीले आगामी दिनमा यस्ता कार्यक्रमको आयोजनालाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिए ।

रक्तदान कार्यक्रमको लागि समन्वय गरेको नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति दिनेश सिग्देलले रक्तदान गर्नु जीवनदान सरह रहेको बताए । उनका अनुसार रेडक्रसले कोहलपुर क्षेत्रमा नगर अभाव रोक्नका लागि र बिरामीको ज्यान बचाउनको लागि ब्लड बैंक स्थापना गर्नेछ । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकामा रगत अभावका कारण कसैले पनि मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार