शुभाकर विश्वकर्मा
कोहलपुर, १६ माघ
जब श्रीमान् र श्रीमतीबीच शंका उत्पन्न हुन्छ, अनि दुईबीच असमझदारी बढ्दै जान्छ । दिनानुदिन झैझगडा, कुटपिटको श्रृंखला चलिरहन्छ । एक दिन, श्रीमान्श्रीमतीबीच बेमेल उत्कर्षमा पुग्छ र एउटा सुन्दर परिवारमा वियोगान्त निम्तिन्छ । त्यही शंका र अन्धविश्वासले एउटा सुन्दर परिवार कसरी तहसनहस हुन्छ भन्ने उज्ज्वलन्त उदाहरण हो, ‘कोहलपुरमा पेट्रोल छर्केर श्रीमती र छोरालाई आगो लगाएको प्रकरण ।’ यो प्रकरणले एकैछिनमा एक नाबालक बच्चाका बुवा हत्यारामा परिणत भए । अबोध बालकले अकारणै मृत्युवरण गरे । श्रीमती अस्पतालमा बाँच्नका लागि संघर्ष गरिरहेकी छिन् । श्रीमान् हिरासतमा टन् भने अन्य बालबालिकाको विचल्ली भएको छ ।

आइतबार कोहलपुर–२ शक्तिनगरमा आफ्नै श्रीमती र छोराको शरीरमा पेट्रोल छर्किएर आगो लगाएको घटना श्रीमती र श्रीमान्बीचको शंकाले तिम्त्याएको वियोगान्त हो । कोहलपुर–२ शक्तिनगरका ३० वर्षीय भानुभक्त विक र कोहलपुर–१ कौशिलानगरकी ३१ वर्षीय गंगाबीच मागी विवाह भएको थियो । गंगा र भानुभक्तको विवाह २०६७ सालतिर भयो । गंगा भानुभक्तभन्दा एक वर्षले जेठी छिन् । जुनीजुनीसँगै बस्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका थिए, उनीहरु । दुईजनाको मायाको चिनोका रुपमा चारजना भगवान्रुपी सन्तानहरुको सृष्टि भयो । जेनतेन जिन्दगी चलिरहेकै थियो ।
१२ वर्षपछि खोलो फर्किन्छ भने झैँ विक परिवारमा एक वियोगान्त निम्त्यिो । आफ्नै बुवाले छर्किएको पेट्रोलका कारण आगो लागेर २ वर्षीय नाबालक प्रिन्सको देहलिला समाप्त भएको छ । त्यो पनि अकारण । मृत्युपूर्व अस्पतालको शैड्ढयामा पेट्रोलको रापले पोलिएको असह्य पीडा सहन नसकेर प्रिन्सको चिच्यावटले त्यहाँ पुगेका सबैका आँखा रसाएका थिए । उनी अविरल रोइरहे । उनी रुदै भन्थे, ‘आमा, बाबा ।’ विचरा, उनलाई के थाहा आफ्नै बाबाले शरीरमा आगो झोसेका हुन् भनेर । रुँदारुँदा प्रिन्सले सोमबार बिहान ६ः२० बजेतिर अन्तिम श्वास फेरे । नजिकैको शैड्ढयामा अत्यासपूर्ण श्वास फेरिरहेकी गंगा त्यतिबेला निःशब्द भइन् । मिर्मिरे उज्यालोसँग छोरा प्रिन्स यो संसारमा नभएको कुरा कानमा पुग्यो । श्रीमान्ले पेट्रोल छर्किएको घाउले के पोल्थ्यो । जति १० महिना कोख र १० धारा दूध खुवाएर जन्माइ, हुर्काएको छोरा आफूसँग नभएको नमीठो सन्देशले पोल्यो, चार गुणा ।

गंगाका बुबा मनि विक भन्छन्, ‘नाति मरेको थाहा पाएपछि छोरी भावविह्वल भएकी छ । रुँदारुँदा आँसु सकिए । घाउ झन चर्किएको छ । अवस्था गम्भीर छ ।’ गंगा मनिकी पाँच सन्तानमध्येकी जेठी छोरी हुन् । भेरी अस्पतालमा छोरीको जीवनका लागि याचना गरिरहेका मनि बोल्दाबोल्दै भक्कानिए । छोरीले नदेख्नेगरी आँसु पुच्छन् । आफूलाई सम्हालेर गंगालाई सम्झाउँछन्, ‘नरो छोरी । केही हुँदैन । त बाच्छेस् । तेरो बाबा छु त यहाँ ।’ मनिले सायदै सोचेका थिए होला, ‘आफ्नै छोरीको छोराको मलामी हुन्छु होला भनेर ।’ उनका अनुसार प्रिन्सको धार्मिक संस्कारअनुसार अन्त्यष्टि गरिएको छ ।
धामीको विश्वासदेखि पेट्रोलसम्म
कुरा दुई वर्षअघिको हो । गाउँमा धामी महिला रहिछिन् । उनी आफ्नो शरीरमा देउता चडेको भन्दै काप्थिन् । गाउँले उनीसम्म पुग्छन् र अन्धविश्वासलाई विश्वास गर्छन् । संयोगले एकदिन भानुभक्त पनि त्यहाँ पुगे । गंगाका बुवा मनिका अनुसार ती धमिनीले भानुभक्तलाई भन्छिन्, ‘तेरी श्रीमती त परपुरुषसँग सल्केकी छ ।’ त्यसपछि सुरु भएको थियो, गंगा र भानुभक्तबीच मनमुटाब । भानुभक्त निरन्तर गंगालाई शंका गर्र्न थाले । झगडा गर्न थाले । आइतबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको इमरजेन्सी विभागमा मिसन टुडेसँग कुराकानी गर्दै गंगाले केही वर्षयता श्रीमान्ले आफूलाई परपुरुषसँग सल्केको भन्दै शंका गरेर कुटपिट गर्दै आएको बताएकी थिइन् ।

आइतबार बिहान श्रीमान् भानुभक्त र गंगाबीच झैझगडा भएको थियो । ‘छोरीज्वाइले बिहान झगडा गरेका रहेछन् । छोरी (गंगा) घरबाट आफन्तकहाँ गएकी थिइ,’ गंगाका बुवा मनि भन्छन्, ‘साँझतिर आफन्तसहित घर पुग्नै लाग्दा ज्वाइले पेट्रोल छर्केर आगो लगाए ।’ ‘ज्वाइ पहिला नराम्रो मान्छे हुनुहुन्थेन,’ उनी भन्छन्, ‘पछिल्ला केही वर्षयता भने निरन्तर हुने झगडासँग म परिचित थिएँ । छोरीज्वाइको कुरा मिल्ने अपेक्षा पनि थियो ।तर, दुःखद् घटना भयो ।’
घर पुग्नै लाग्दा पछाडिबाट भानुले पेट्रोल छर्केर र आगो लगाएका थिए । त्यतिबेला गंगाले प्रिन्सलाई बोकी थिइन् । भानुभक्तले केही परबाट पेट्रोल छर्के र आगो फाले । गंगा र प्रिन्सलाई आगो लागेपछि आफन्त र छिमेकीले आगो निभाएका थिए । लगत्तै उनी फरार भए । प्रिन्स र गंगालाई आफन्तहरुको सहयोगमा अस्पताल पु¥याइयो । कोहलपुरमा उपचार हुन नसकेपछि दुवैजनालाई आइतबार राति नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो । प्रिन्सको उपचारको क्रममा मृत्यु भयो । गंगाको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।
भारत भाग्न लाग्दा पक्राउ परे भानुभक्त
श्रीमती र छोराको शरीरमा पेट्रोल छर्केर आगो लगाइ फरार भएका भानुभक्त पक्राउ परेका छन् । भारततर्फ जाँदै गरेका उनलाई प्रहरीले सोमबार बिहान जमुनाहबाट पक्राउ गरेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आगो लगाइ फरार भएका अभियुक्त भानुभक्तलाई सार्वजनिक गरिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार विकले आर्थिक तथा पारिवारिक कारण आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक वयान दिएका छन् । विकले प्रहरीसामु श्रीमतीले पैसा हिनामिना गर्ने गरेको समेत आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा मल्लले भने, ‘अनुसन्धान भइरहेको छ । प्रक्रियाअनुसार मुद्दा अघि बढ्छ ।’
पक्राउ परेका विकका दुईवटै हातका औँलासमेत आगोका कारण पोलिएका छन् । पत्रकार सम्मलेनमा उनका दुवै हातमा आगोले पोलेर फोका उठेका देखिन्थे । ‘रीस उठेपछि आगो लगाए । पछि छोरा र श्रीमती जल्न लागे । मैले छोरालाई समाए । उनको लुगासमेत च्यातेको थिएँ,’ प्रहरीसँग उनले भनेका थिए ।









प्रतिक्रिया दिनुहोस्