सुरु भयो ‘वेस्टर्न ट्राभल मार्ट’



नेपालगन्ज, १५ माघ
नेपालगन्जमा आइतबारदेखि पर्यटन व्यवसायीहरुको मेला ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मन्च बाँके, होटल एसोसियन बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संस्थाहरुको सहकार्यमा मेला सुरु भएको हो । तीन दिनसम्म चल्ने डब्लुटिएम–२०२३ एफएएम बिक्री मिशनसँग यात्रा (परिचयात्मक भ्रमण कार्यक्रम–२०७९) (परिचयात्मक भ्रमण कार्यक्रम २०७९) नाम दिइएको मेलामा नेपाल र भारतका गरी चारसय भन्दा बढी पर्यटन व्यवसायीहरु सहभागी छन् ।
मार्टको प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले पश्चिम नेपाल पर्यटकीय संभावनाले भरीपूर्ण क्षेत्र रहेको र त्यसका लागि भारतीय पर्यटकहरुलाई यहाँ पठाउन टुर अपरेटरहरुलाई अनुरोध गरे । उनले नेपालगन्जबाट दिल्ली लगायत भारतका प्रमुख सहरहरुमा हवाई उडानका लागि पहल भइरहेको बताए । उनले त्यसका लागि भारत सरकारलाई सकारात्मक दबाब दिन पनि भारतीय व्यवसायीहरुलाई आग्रह गरे । नेपालगन्जबाट पर्यटकीय स्थलहरु मानसरोवर, पोखरा, स्वर्गद्वारी, रारा, डोल्पा, बर्दिया, खप्तड, रामारोसन, शुक्लाफाँटालगायतका स्थलहरु पायक पर्ने अवगत गराए ।


यसवर्ष भारतका टूर अपरेटर व्यवसायीहरुको संगठन ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (टाई) बाट कार्यकारी निकायसमेत ७५ जना भारतीय ट्राभल व्यवसायीहरु सहभागी छन् । उनीहरुको माध्यमबाट भारतभरी पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरुकोबारेमा जानकारी पुग्ने विश्वास आयोजकले लिएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै टाइका प्रमुख ज्योतिमायाले नेपालका टुर अपरेटर र भारतका टुर अपरेटरहरुको साझा वेबसाइट बनाएर र नीतिका पनि एकरुपता ल्याएर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले पर्यटन जीवन बाँच्ने कला भएको बताउँदै त्यसका लागि नेपाल एक उत्कृष्ट गन्तव्य रहेको उल्लेख गरिन् । मेलामा आइतबार दुई देशका व्यवसायीहरुबीच व्यवसायिक सम्झौताहरु पनि भएका छन् । मेलास्थलमै राखिएका स्टलमा व्यवसायीहरुबीच भेटघाट, सम्बन्ध बिस्तार तथा डिलहरु भएका आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा देउडा, सल्यानी नाच, थारु समुदायको लाठी नाच लगायका नृत्यहरु पनि कलाकारहरुले प्रस्तुत गरेका थिए । मार्टको दोस्रो दिन आज मेलामा भारतीय टूर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायीको सहभागितामा पहिलोपटक कैलाश मानसरोवर दूरदर्शन गरिँदै छ । त्यसका लागि बुद्ध एयरले सघाउनेछ । जसमा ३९ जना कैलाश दूर दर्शनका लागि जानेछन् । यसका साथै अतिथिहरुलाई कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुन्जमा जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका क्यासिनो र होटलहरु भिजिट गराउने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ ।

बागेश्वरी मन्दिरमा गरियो महाआरती
नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आइतबारबाट महाआरती सुरु गरिएको छ । वेस्टर्न ट्राभल मार्टमा सहभागी अतिथिहरुको उपस्थितिमा साप्ताहिकरुपमा महाआरती सुरु गरिएको हो । नेपालको एक प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा महाआरती सुरु भएसँगै सीमावर्ती क्षेत्रका हिन्दु धर्मावलम्वीको आगमन बढ्ने अपेक्षा गरिएको छ । ‘धार्मिक पर्यटनका दृष्टिकोणले र धार्मिक दृष्टिकोणले पनि महाआरती सुरु हुनू सुखद हो,’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष दिवाकर खनालले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार