राष्ट्रिय थारू साहित्य सम्मेलन राप्तीसोनारीमा



मिसन संवाददाता
नेपालगन्ज, १४ माघ
राष्ट्रिय थारू साहित्य सम्मेलनको सातौँ संस्करण बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना हुने भएको छ । थारु गोचाली समाज फत्तेपुरसँगको सहकार्यमा थारु लेखक संघ नेपालले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा माघ २० देखि २३ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
सम्मेलनबाट थारु साहित्यका अलिखित इतिहास र पाटाहरुको अभिलेखिकरण गरिँदै आएको आयोजकले जनाएको छ । सम्मेलनबारे जानकारी दिँदै थारु लेखक संघ नेपालका केन्द्रीय साहित्यकार सदस्य शेखर दहितले भने, ‘पाँच दशकमात्रै इतिहास रहेको मानिएको थारु साहित्यका धेरै कुराहरु अभिलिखित छैनन् । हामी सम्मेलनबाट त्यो कमी पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’ सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको भेषभुषा बारे अन्तरक्रिया तथा छलफल गर्ने मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । यसैगरी थारू तथा गैरथारू साहित्यकारहरूबीच अनुभव आदानप्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको दहितले बताए ।


सम्मेलनमा स्थानीय सरकारका योजना, बाँकेको मातृभाषा, विकासमा बरघर, पश्चिम थरुहटमा राजनीतिक फिलिङ्गो, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु जीवन, बाँके थारु साहित्यक अवस्था, थारु साहित्यमा युवा, सिकलसेल एनिमियाको कहरलगायतका विषयमा गहन छलफल गरी घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । साथै, थारु संस्कृतिक प्रदर्शनी र रचना वाचनका सेसनहरु सम्मेलनमा रहने जनाइएको छ ।
सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिँदै थारु गोचाली समाजका महासचिव कालुराम थारुले झापादेखि कञ्चनपुरसम्मका तीन सय बढी लेखक साहित्यकारहरुको भेला रहने जानकारी दिए । थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरकफरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । २०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री वा संस्कृतिमन्त्रीमध्ये एकजनाबाट गराइने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतबार