फुलबारी एजुकेशनल एकेडेमीको ८ औँ वार्षिकोत्सव सम्पन्न



कोहलपुर : फुलबारी एजुकेशनल एकेडेमीले आठौँ वार्षिकोत्सव, अभिभावक दिवस भव्य रुपमा मनाएको छ । सरस्वती पूजाको अवसरमा एक भव्य औपचारिक समारोहका बीच एकेडेमीले वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाप्रसाद थारुको प्रमुख आतिथ्यतामा आठौँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सरस्वती पूजा सम्पन्न भएको हो । प्रमुख अतिथि थारुले वार्षिकोत्सवको पानसमा दियो बालेर तथा ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै चौधरीले शिक्षा सबैका लागि समान हुनुपर्ने बताए । उनका अनुसार कुनै पनि बालबालिकाले निःशुल्क शिक्षा पाउनु उसको नैसर्गिक अधिकार हो ।


‘गुणस्तरीय र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो । फुलबारीले बालमैत्री वातावरणमा शिक्षा प्रदान गरिरहेको छ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिनुपर्छ । म मेरोतर्फबाट हुने सहयोग गर्न चाहन्छु ।’ यस्तै उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष हरी कठायतले शिक्षालाई वडाले प्रमुख प्राथमिकता दिएको बताए । उनले वडा नम्बर २ मा रहेका सरकारी तथा संस्थागत विद्यालयको वृद्धि विकासका लागि कार्ययोजना अनुसार अघि बढ्ने बताए । नेशनल प्यावसन बाँकेका अध्यक्ष श्याम कुँवरले बाँके जिल्लाको शैक्षिक विकासका लागि निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनका अनुसार कोहलपुरमा समेत धेरै निजी तथा संस्थागत विद्यालय छन् । ती मध्ये फुलबारी विद्यालयले उत्कृष्ट रुपमा पठनपाठन गर्दै आएको उनले बताए ।

आठौँ वार्षिकोत्सव, अभिभावक दिवस तथा सरस्वती दिवसको अवसरमा एकेडेमीद्धारा आयोजित विभिन्न प्रतिष्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रिन्सिपन धनबहादुर शाहीले बताए । उनका अनुसार ती विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडलसहित पुरस्कृत गरिएको थियो । उक्त अवसरमा वेष्ट पर्फमर विधामा गायनतर्फ प्रनिष भण्डारी, गीतमा पूर्णिमा परियार,उत्कृष्ट नृत्यतर्फ विनिशा शाही तथा अनुशासनमा प्रि प्राइमरी तहबाट आर्या सुनार, प्राइमरी तहबाट अनुजा परियार र निम्न माध्यमिक तहबाट वविता अर्जेल पुरस्कृत भएको उनले बताए ।
यस्तै उत्कृष्ट स्पीकर मनोज वि.सी. उत्कृष्ट खेलाडी बिमोचन डाँगी, वेष्ट रिडर भावना बयक र उत्कृष्ट कविता लेखनतर्फ सिर्जना ऐडी लगायतका विभिन्न विधाकमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सतिदेवी ढकालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रबार