कोहलपुरमा हाइसको ठक्करबाट अटो चालकको मृत्यु



बाँके ।

कोहलपुरमा हाइस गाडीले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बसपार्क नजिकै सोमबार हाइसले अटोलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । नेपालगन्जबाट कैलाली गइरहेको बा५ख ७१५१ नम्बरको हाइस गाडिले भे१ह ३५४७ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका अटो चालक कोहलपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय गणेश कनाउ मगरको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । तिव्र गतिमा रहेको हाइसले अटोलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शी मिलन रोकाले मिसन टुडेलाई जानकारी दिए ।

‘आफ्नै साइडमा रहेको अटोलाई तिव्र गतिमा पश्चिमतर्फ गइरहेको हाइसले ठक्कर दिएको थियो,’ उनले भने, ‘हाइसले ठक्कर दिएपछि अटो सडकभन्दा तल पुग्यो । सडकमै परेका चालकलाई फेरी हाइसले किच्यो ।’

ठक्कर दिने हाइस चालकलाई कानुनअनुसार कारबाही गर्न तयार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । अटोलाई ठक्कर दिने हाइस र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

क्षतिपूर्ति माग्दै चक्काजाम

मृतक अटो चालकका परिवारलाई उचित क्षतिपूर्ति र हाइस चालकलाई कारबाहीको माग गर्दै राजमार्गमा चक्काजाम गरिएको छ । सोमबार मृतकका आफन्त तथा अटो चालकहरुले हाइस चालकलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै राजमार्गमा चक्काजाम गरेका हुन् ।

उनीहरुले कोहलपुरको चौराह, न्यूरोड, बसपार्कलगायतका क्षेत्रमा बसेर सडक अवरुद्ध पारेका थिए । मृतक अटो चालकका परिवारलाई उचित क्षतिपूर्ति र ठक्कर दिने गाडीका चालकलाई कारबाहीको माग गरेर चक्काजाम गरिएको अटो चालक अनोज थारुले बताए । केही घण्टा भएको चक्काजामका कारण गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए । क्षतिपूर्तिको विषयमा सहमति हुन नसके आज पनि चक्काजाम गरिने मृतक आफन्तहरुले जनाएका छन् ।

क्षतिपूर्तिको विषयमा मृतकका आफन्त र हाइस समितिबीच वार्ता भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । समिति स्रोतका अनुसार पीडित पक्षले बीमाबाट पाउने पाँच लाख रकमबाहेक थप रकम क्षतिपूर्तिबापत मागेकाले समस्या भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १० गते मंगलबार