करेक्सनपछि सेयरमा फेरि रफ्तार



बाँके ।

गत साता दुई दिनको सार्वजनिक बिदापछि मंगलबार खुलेको सेयर बजारले केही करेक्सनपछि फेरि रफ्तार लिएको देखियो । मंगलबार ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा उक्लिएको थियो । ३ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार हुँदा ७ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो ।

बुधबार भने नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा अडिएको देखियो । नेप्से परिसूचक घटे पनि त्यस दिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको थियो । सूचकमा सामान्य ह्रास आए पनि सेयर कारोबार रकम (टर्नओभर) ले पुनः तेजी लिन थालेको
देखिन्थ्यो ।

यसअघि बजार बियरिस रहेका बेला (करिब १८ सयको लाइनमा हुँदा) दैनिक कारोबार रकम ५० करोड रुपैयाँ हाराहारीमा झरिसकेको थियो । तर त्यसयता कारोबार रकम क्रमशः बढ्दै आएको छ । केही समयअघि नेप्से २२ सय विन्दुमाथि पुग्दा झन्डै ८ अर्बको सेयर कारोबार हुन
पुग्यो । अहिले पुनः बजार बिस्तारै लयमा आउँदै गर्दा कारोबार रकममा सुधार हुँदै झन्डै ५ अर्ब रुपैयाँ पुगेको देखियो ।

कारोबार रकम बढ्दै जाँदा बजार पनि बलियो हुँदै जाने अनुमान गर्न सकिने जानकारहरु बताउँछन् । दिनहुँ खरिदबिक्री रकममा वृद्धि हुनुको अर्थ बजारमा लगानीकर्ता सक्रिय भएका छन् भन्ने हो । बिहीबार बजार पुनः सकारात्मक बन्यो । त्यस दिन नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा उकालो लागेर रोकियो ।

तर सेयर कारोबार रकममा भने कमी आएको देखियो । यो दिनमा मात्र ३ अर्ब रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको थियो । कारोबार अवधिभर तलमाथि–तलमाथि अनि रातो र हरियो भइरहेको बजार अन्ततः थोरै अंकले बढेर बन्द भएको थियो । बिहीबार बजार साइडवेज प्रवृत्तिमा रहेको देखियो । यस्तो बेला सूचक सँगसँगै कारोबार रकममा पनि सुस्तता देखिन्छ ।

यो साता बजारले २२ सयको विन्दुलाई पार गर्ने प्रयास गरिरहेको भए पनि अहिलेसम्म सम्भव भइरहेको छैन । दिउँसो कारोबार समयभित्रै २२ सय माथि उक्लिएको भए पनि अन्त्यमा गएर २२ सय मुनि नै बजार रोकिएको देखिन्छ ।

माथि गइहाल्न पनि नसकेको र तल झरिहाल्न पनि नसकेको अवस्थामा नेप्से देखिएको छ । यसअघि बजार २२ सय माथि पुगेर फर्किएको हो । त्यसपछि पनि नेप्से एक दिन राम्रैसँग बढेको थियो । कारोबार रकम पनि ५ अर्ब हाराहारीमा पुगेको थियो । आम लगानीकर्ताले बजारको चाल अध्ययन गरिरहेको र ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार रकम केही घटेको अनुमान गरिएको छ ।

तथापि, केही दिनको पहलपछि नेप्सेले पुनः २२ सय विन्दुलाई पार गर्ने अनुमान विश्लेषकहरुले गरेका छन् । यता, अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएका छन् । उनीहरुले अहिले देखिएका समस्या मिलेर समाधान गर्ने बताएका छन् ।
अर्थमन्त्रीले बिहीबार मात्रै राज्यको अनावश्यक खर्च कटौती गर्ने बताएका छन् । अझ अगाडि बढेर अर्थमन्त्रीले अर्को साता अर्थतन्त्रमा केही साहसी कदम चाल्ने घोषणा गरिसकेका छन् । सेयर बजार निकै हदसम्म लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ ।

पछिल्ला दिनहरुमा बेलाबखत आइरहेका सकारात्मक खबरहरुले आम लगानीकर्ताको मनोविज्ञानलाई सकारात्मक बनाउँदै लगेको देखिन्छ।
लगानीकर्ताको मनोबल बढेकै कारण बजारले पुस मसान्तको प्रेसरलाई पनि सजिलै छिचोल्न सकेको थियो । पुस मसान्तमा कर्जाको ब्याज तथा आयकरको किस्ता तिर्नका लागि प्रणालीबाट ठूलो पैसा बाहिरिंदा पनि बजार बिग्रिएन ।

त्यतिमात्र होइन बैंकिङ प्रणालीको तरलता अवस्थामा पनि ठूलो संकट आएन । यो सेयर बजारका लागि निकै सुखद् पक्ष भएको जानकारहरु बताउँछन् । यता, पछिल्ला दिनहरुमा बैंक निक्षेपमा सुधार भइरहेको छ । कर्जा लिनेहरुलाई आकर्षित गर्नकै लागि बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाएका छन् ।

अब कर्जामा पनि ब्याजदर बिस्तारै घट्दै जाने निश्चित छ । यसर्थ, आम लगानीकर्ताले सबल सूचक भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानीसम्बन्धी निर्णय लिनुपर्ने जानकारहरुको सुझाव छ । बजार सधैं एउटा रेखामा मात्र नहिंड्ने भएकाले सामान्य तलमाथि हुँदैमा त्यसलाई नकारात्मक हिसाबले सोच्नु उपयुक्त हुँदैन ।

अब आउने दिनहरुमा पनि सूचकसँगै फेरि कारोबार रकमले पनि गति लिंदै गयो र बजारको वृद्धि २० प्रतिशतलाई नाघेर फेरि अघि बढेमा बुल कन्फर्म गर्न सकिने कतिपय अर्थविद्हरूको भनाइ छ । बजार बुल रनमा जानका लागि आधारहरु तय भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ९ गते सोमबार