कोहलपुर ।
कोहलपुर नगरपालिकाका विभिन्न वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु गरिएको छ । वडा कार्यालयको अगुवाइमा वडा मै राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु गरिएको हो । विगत डेढ सातायता कोहलपुर नगरपालिकाका वडा नम्बर २, ४, १३ र १५ मा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुचारु गरिरहेको छ । पहिलो चरणमा १५ मध्ये चारवटा वडामा अभियान थालिएको छ ।
नगरपालिका वडा नम्बर २ वडाध्यक्ष हरि कठायत आफ्नो वडामा पुस २९ गतेबाट अभियान सुरु भएको बताए । अहिले उक्त अभियान तीव्ररुपमा सञ्चालन भइरहेको उनी बताउँछन् । उनका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि टाढा जानु पर्ने वडावासीहरुको समय व्यवस्थापन र सहजताका लागि वडामै राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु गरिएको हो ।
वडा नम्बर २ मा जिल्ला प्रशासन कार्यालय बाँकेबाट दुईजना कम्युटर अपरेटर खटिएका छन् । अभियान आगामी फागुन महिनासम्म सञ्चालन हुने वडाध्यक्ष कठायतको भनाइ छ । अहिलेसम्म वडाका विकासनगर टोल, शक्तिनगर, मुक्तिनगर, विकासनगर तथा मनकामना चोक क्षेत्रका नागरिकहरुको दर्ता प्रक्रिया सम्पन्न भइसकेको उनले बताए । वडा नम्बर २ मा ११ हजार सात सय ४६ जनसंख्या छ ।
वडामा रहेका दर्जनभन्दा बढी टोलहरुमा समय तोकेरै दर्ता गर्ने काम भइरहेको छ । अभियान आगामी फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । अहिलेसम्म पाँच सयभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि अनलाइन फर्म भरिसकेको दर्ताका लागि वडा नम्बर २ मा खटिएका कर्मचारी रामबहादुर ओलीले बताए । उनका अनुसार दैनिक एक सयभन्दा बढी नागरिकको अनलाइन फर्म दर्ता हुने गरेको छ ।
‘अभियान सञ्चालन भइरहेको छ । आफ्नो स्थायी परिचय खुल्ने कागजात भएमा दर्ता हुन्छ । परिचयपत्रचाहिँ अलि पछि नै हुन्छ । हामीले दैनिक बढीभन्दा बढी नागरिकलाई समेट्ने प्रयास गरिरहेका छौँ,’ कर्मचारी ओली भन्छन् । राष्ट्रिय परिचयपत्र दर्ताका लागि नागरिकता, बसाइँसराइ, विवाह दर्ता, मतदाता नामवली जस्ता कागजात आवश्यक हुने उनको भनाइ छ ।
यस्तै वडा नम्बर १३ मासमेत राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गरिरहेको छ । वडा सदस्य गोमा खनालका अनुसार अभियान पुस ३० गतेबाट सुरु भएको हो । अभियानका लागि तीनजना जिल्ला प्रशासन कार्यालय र एकजनालाई नगरपालिकाबाट सहमति लिएर चारजना कर्मचारी खटाइएको उनले बताइन् ।
बाँकेमा पालिका तथा वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान बैजनाथ गाउँपालिकाबाट सुरु भएको थियो । यहाँका सम्पूर्णमा वडामा दर्ता प्रक्रिया पूरा भइसकेको छ । जिल्लामै दोस्रोपटक खजुरामा गत मंसीरदेखि सुरु गरिएको थियो ।
यस्तै जिल्लाको जानकी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान अन्तिम चरणमा पुगेको छ । चौथो पालिकाको रुपमा कोहलपुर नगरपालिकाका केही वडाले सुरु गरेका छन् । कोहलपुरका १५ वटै वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सुरु गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्