बाँसगढीमा अन्तर वडा फुटबलः वडा नम्बर ८ विजयी



मधुर पौडेल । बाँसगढी ।

दोस्रो बाँसगढी नगर स्तरीय अन्तर वडा महिला तथा पुरूष फुटबल प्रतियोगितामा वडा नम्बर ८ विजयी भएको छ । शनिबार दमौली खेल मैदानमा भएको पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ चेपाङ्गलाई ४–३ अन्तरले हराउँदै वडा नम्बर ८ विजयी भएको हो ।

वडा नम्बर ८ ले चेपाङ्गलाई ट्राईबेकरमा ४–३ अन्तरले पराजित गरेको थियो । निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेल ट्राईबेकरमा गएको थियो । विजयी भएको वडा नम्बर ८ टिमले नगद ४० हजारसँगै ट्रफि र प्रमाणपत्र पाएको थियो ।

दोस्रो भएको वडा नम्बर– १ चेपाङ्गले २१ हजार नगदसँगै ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो । तेस्रो भएका वडा नम्बर २ र वडा नम्बर ५ टिमले समान पाँच/पाँच हजार नगद र प्रमाणपत्र हात पारेका थिए । बाँसगढी वडा नम्बर ६ को आयोजनामा भएको प्रतियोगिता माघ ४ गतेदेखि सुरु भएको थियो ।

यस्तै महिलातर्फ साविक मोतिपुर गाविसले बेलुवा गाविसलाई ४–० हराउँदै विजयी भएको थियो । विजेताहरूलाई नगर प्रमुख खडक बहादुर खड्का, वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर क्षेत्री लगायतले पुरस्कार विरतण गरेका थिए ।

नगर प्रमुख खड्काले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताए । ‘मानव स्वास्थ्यसँगै राष्ट्रको सान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो’ उनले भने, ‘यसको उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्नुपर्छ ।’
प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा बिवश गुरुङ्ग, लक्ष्मण घर्ती र शिव अधिकारी रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ८ गते आइतबार