21 March 2023  |   बुधबार, चैत्र ८, २०७९

मोदीबारे बनाइएको बीबीसी वृत्तचित्र भारतमा प्रसारणमा रोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ८, २०७९  

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा बनाइएको बीबीसीको वृत्तचित्र भारतमा प्रसारणमा रोक लगाएको छ ।

वृत्तचित्रमा सन् २००२ मा गुजरात दंगामा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाएको थियो । सो वृत्तचित्र सामाजिक सञ्जालमा समेत कुनै पनि क्लिप सेयर गर्न प्रतिबन्ध लगाइएको रोयटर्सले जनाएको छ ।

सरकारका सल्लाहकार कञ्चन गुप्ताले शनिबार ट्विट गर्दै भने, “मुलुकको सूचना प्रविधि नियमहरू अन्तर्गत सरकारलाई उपलब्ध आपतकालीन शक्तिहरू प्रयोग गरी क्लिपहरू सेयर गर्नबाट रोक्न निर्देशन जारी गरिएको छ ।”

बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भएपनि केही युट्युब च्यानलमा भिडियो अपलोड गरिएको गुप्ताले बताएका छन् ।

सरकारले वृत्तचित्रको भिडियोसँग जोडिएका ५० भन्दा बढी ट्विटहरू निषेध गर्न ट्विटरलाई आदेश जारी गरेको छ र युट्युुबलाई भिडियोको कुनै पनि अपलोड रोक्न निर्देशन दिइएको सल्लाहकार गुप्ताले जानकारी दिए । “युट्युब र ट्विटर दुवैले निर्देशनहरूको पालना गरेका छन्,” उनले थपे ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । जसमा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जसमध्ये अधिकांश मुस्लिम थिए । हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएपछि हिंसा भड्किएको थियो । रोयटर्स

प्रकाशित मितिः आइतवार, माघ ८, २०७९     11:37:51 AM  |