नेपाली पोसाक संरक्षणका लागि अभियान



कोहलपुर ।

गुल्मीका २० वर्षीय शिशिर नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल संरक्षणका लागि मेची–महाकाली यात्रामा निस्किएका छन् । हाल बुटवलमा अस्थायीरुपमा बसोबास गरिरहेका नेपालीले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट मेची–महाकाली यात्रा सुरु गरेका हुन् । आफ्नो यात्रालाई उनले ‘दौरा सुरुवाल मेची–महाकाली अभियान’ नाम दिएका छन् ।

नेपालीको पहिचानको रुपमा रहेको दौरा सुरुवाललाई संरक्षण गर्न यात्रा सुरु गरेको उनले बताए । पछिल्लो समय नेपालमा मौलिकता हराउँदै गएपछि नेपाली पोसाकको संरक्षणका लागि अभियानमा निस्किएको उनले बताए । बाह्य शैली हाबी हुँदा नेपालको रैथाने संस्कृति, भेषभुषा तथा पोसाकहरुको संरक्षण गर्न आफ्नोतर्फबाट पनि योगदान दिन सकिन्छ भनेर यात्रा सुरु गरेको उनको भनाइ छ । यात्राको क्रममा कोहलपुर पुगेका उनले आफूले समाजमा केही नयाँ सन्देश जाओस् भनेर यात्रा सुरु गरेको बताए ।

कोहलपुरमा इम्स दर्पण कम्प्युटरले दौरा सुरुवाल लगाएर मेची–महाकाली अभियानमा हिँडेका उनलाई चौराहामा स्वागत गरेको थियो । सञ्चालक मोहन खत्रीले नेपालीको अभियानलाई साथ दिने र हौसला प्रदान गर्ने उद्देश्यले कोहलपुरमा स्वागतका साथै पत्रकार सम्मेलन आयोजना गरिएको बताए । २० वर्षीय नेपालीले माघ ३ गतेबाट अभियान सुरु गरेका हुन् ।

उनले देशभरिका सातवटै प्रदेशमा पुग्ने योजना रहेको बताए । उनी अहिले स्नातक तहमा अध्ययन गरिरहेका छन् । गैंडाकोटमा रहेको अक्पोड इन्जिनियरिङमा स्नातक तह तेस्रो सेमेस्टारमा अध्ययन गरिरहेको बताए । कलेज बिदा भएको समयमा आफूले यात्रा सुरु गरेको उनको भनाइ छ ।

आगामी फागुन महिनामा परीक्षा रहेको समेत उनले बताए । ‘मेरो अभियानको उद्देश्य दौरा सुरुवालको संरक्षण गर्ने भन्ने नै हो । कलेज बिदा भएको समयमा यात्रा थालेको छुँ । मेरो यात्राले सबैलाई नयाँ सन्देश दिने आशा गरेको छुँ,’ उनले भने ।

उनी अभियानभरि दौरा सुरुवाल नै लगाउने छन् । अभियानको क्रममा सबैलाई राष्ट्रिय पोसाक लगाउन प्रेरित गर्ने र युवाहरु नि आफ्नो संस्कृति संरक्षणमा जागरुक हुन आवश्यक भनेर हौसला प्रदान गरिने अभियान्ता नेपालीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार