20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

न्युजील्यान्डबाट अस्ट्रेलिया गइरहेको विमानको इन्जिन बीच बाटोमै बन्द भएपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ४, २०७९  

कान्तास विमानमा न्युजील्यान्डको अकल्यान्डबाट अस्ट्रेलियाको सिड्नी जाँदै गरेका यात्रुहरूले आकाशमा उडिरहेकै बेलामा देब्रेपट्टिको इन्जिनमा ठूलो आवाज सुनेका थिए । तर अवतरण नगरुन्जेल उनीहरूलाई विमान कति गम्भीर परिस्थितिमा थियो भन्ने कुरा थाहै भएन ।

क्यूएफ१४४ जहाजका पाइलटले आधा बाटोमा मेडे कल गरेपछि प्यारामेडिक स्वास्थ्यकर्मीहरू सिड्नी विमानस्थलतर्फ दौडेका थिए । अनि संसारभरिका दुई लाख मानिसले फ्लाइटरेडारमा यस विमानको उडानको ट्य्राकिङ गरेका थिए ।

परिस्थिति निकै गम्भीर बनेको थियो भन्ने कुरा विमानका यात्रुहरूले चालै पाएनन् । ७४७–८०० विमानको एउटा इन्जिन बिग्रिएको कुरा उनीहरूलाई बताइएको थिएन ।

आकाशमा उडिरहँदा ड्वाङ्ङ ठूलो आवाज सुन्दा केही भयो होला भनी उनीहरूले धेरै वास्ता गरेका थिएनन् ।

विमान सुरक्षित रूपमा अवतरण गरेपछि मात्र उनीहरूलाई घटनाको वास्तविकता बताइएको थियो । त्यसपछि यात्रुहरूले सन्तोषको सास फेरेका थिए । विमानबाट ओर्लिँदै गर्दा पाइलटले सबै १४५ यात्रुसँग हात मिलाएका थिए । अकल्यान्डबाट सिड्नी तीन घन्टा जति लाग्छ र घटना आधाउधी समय बितेपछि भएको हो ।

प्रकाशित मितिः बुधबार, माघ ४, २०७९     2:04:19 PM  |