कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे योजना वडा नम्बर १ मा कार्यान्वयन हुनुपर्नेमा वडा नम्बर ११ मा सञ्चालन भइरहेको हुँदा यो योजना बमोजिमका कार्य वडा नम्बर १ मा कार्यान्वयन हुनेगरी नगर सभामा पहिलो प्राथमिकतामा राखी बजेट व्यवस्थापन गरी योजना कार्यान्वयनमा लैजाने ।’
शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर नगरपालिकामा मिलोमतोमा गायब पारिएको एउटा योजना कार्यान्वयन हुने भएको छ । लुम्बिनी सरकारको शःशर्त अनुदानतर्फ १ नम्बर वडाका लागि विनियोजित बजेट केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा योजना नै गायब पारेर वडा नम्बर ११ मा कार्यान्वयन गरिएको थियो ।
स्थानीय बासिन्दाबाट चर्को विरोध भएपछि नगरपालिकाले प्रदेश सरकारले विनियोजन गरेको जती बजेट दिएर योजना कार्यान्वयन गर्न लागेको हो । प्रदेशबाट यातायात पूर्वाधारतर्फ फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे बाटोको लागि वडा नम्बर १ मा कार्यान्वयन हुनेगरी २५ लाख रुपैयाँ विनियोजित भएको थियो ।
पुस २६ गते मिसन टुडे राष्ट्रिय दैनिकले अंक एक सय ८८ मा ‘योजनानै गायब’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । वडा नम्बर १ को योजना वडा नम्बर ११ मा कार्यान्वयन गरिएको पर्दाफास भएपछि अहिले उक्त योजनाको काम रोकिएको छ । यस विषयमा कोहलपुर नगर कार्यपालिकाले समेत चासो देखाएको छ ।
मिसन टुडेमा प्रकाशित समाचारको विषय शुक्रबारबाट सुरु भएको १२औँ नगर सभामा उठेको थियो । सहभागीहरूबाट उठेका प्रश्नमाथि जवाफ दिदैँ नगर प्रमुख पूर्णप्रसाद आचार्यले विवादस्पद अभिव्यक्ति दिएका थिए । ‘यसभन्दा पहिलाका सरकारले एकाध राष्ट्रिय मिडिया भनिने सञ्चार माध्यमलाई अलि बढी पृष्ठपोषण दिएर, माया गरेर काखमा च्यापेर राखेको अनुभूति भएको छ ।’ १२औँ नगरसभालाई सम्बोधन गर्दै उनले भने ।
नगरप्रमुख आचार्यले नगर सभामा उक्त अभिव्यक्ति दिएपनि उनकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले योजना कार्यान्वयनका क्रममा गल्ती भएको स्वीकार गरिसकेको छ । पुस २८ गते बसेको कार्यपालिका बैठकले निर्णय नम्बर ८ मा योजना वडा नम्बर १ मा सञ्चालन हुनुपर्नेमा वडा नम्बर ११ मा सञ्चालन हुन गएको उल्लेख गरेको छ ।
निर्णय नम्बर ८ मा भनिएको छ, ‘फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे योजना वडा नम्बर १ मा कार्यान्वयन हुनुपर्नेमा वडा नम्बर ११ मा सञ्चालन भइरहेको हुँदा यो योजना बमोजिमका कार्य वडा नम्बर १ मा कार्यान्वयन हुनेगरी नगर सभामा पहिलो प्राथमिकतामा राखी बजेट व्यवस्थापन गरी योजना कार्यान्वयनमा लैजाने ।’
योजनाको सम्बन्धमा नगर प्रमुख आचार्यले पनि शुक्रबारको नगर सभामा कार्यपालिका बैठकमा गम्भीर छलफल भएको र योजना कार्यान्वयन गर्ने सहमति भइसकेको बताएका थिए । प्रदेशबाट वडामा योजना ल्याउन भूमिका खेलेका वडा नम्बर १ का अध्यक्ष बद्रिप्रसाद जैशीले कार्यपालिका बैठकमा आफूले मिलोमतोमा योजना गायब पारिएको विषयमा आफूले विषय उठान गरेको बताए । उनका अनुसार कार्यपालिका बैठकले प्रदेश सरकारले विनियोजित गरेको २५ लाख रुपैयाँ नै विनियोजन गरेर योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यता, वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्माले कार्यपालिका बैठकमार्फत वडा नम्बर १ मा योजना कार्यान्वयन गर्ने निर्णय भइसकेको बताइन् । उक्त अवसरमा आफूले नियतबस यस्तो कुरा नगरेको उनले बताइन् । वडाध्यक्ष शर्माले वडा नलेखिएका कारण फूलबारी टोल मेरोमा पनि भएकोले योजना कार्यान्वयन हुन गएको बताएको वडा नम्बर १ का अध्यक्ष जैशीले जानकारी दिए ।
‘निर्णय कार्यान्वयनमा आशावादी छु’ (बक्स)
बद्रिप्रसाद जैशी
वडाअध्यक्ष १
कोहलपुर नगरपालिका
पुस २८ गते बसेको कार्यपालिका बैठकमा मैले यस विषयमा कुरा उठाएको थिए । वडा नम्बर ११ का अध्यक्षले समेत यस विषयमा आफ्ना धारणा राख्नु भएको थियो । स्वयम् नगर प्रमुखले पनि योजना कार्यान्वयनको क्रममा त्रुटी भएको बताउनुभयो ।
कार्यपालिका बैठकले प्राथामिकताका साथ बजेट विनियोजन गर्ने निर्णय गरेको छ । व्यक्तिगत रुपमा मलाई खुसी लागेको छ । तर योजना जुन हिसाबले मनोमानी रुपमा गायब बनाइयो । यो गम्भीर विषय हो ।
आगामी दिनमा यस्ता क्रियाकलाप बन्द हुनुपर्ने मैले माग गरेको छु । हेरौं अब निर्णय कार्यान्वयन हुन्छ की हुँदैन ।









प्रतिक्रिया दिनुहोस्