नेपालगन्ज ।
थारू आयोगले भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित थारू समुदायका लागि योगदान गर्ने तीन जना व्यक्तित्व र एउटा संस्थालाई थारू रत्न पुरस्कारबाट सम्मान गर्ने भएको छ । यसैगरी थारू गौरव पुरस्कारअन्तर्गत सात जनालाई सम्मान गर्ने आयोगले निर्णय गरेको छ ।
आयोगले स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन एवं सिकलसेल अनुसन्धानकर्ता डा. पाण्डे, थारू सँस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।
डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका मेडिसिन विभाग प्रमुखका साथै थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको अनुसन्धानकर्ता तथा विशेषज्ञ पनि हुन् । केही महिनाअघि पाण्ड.लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल ‘प्रोटोकल विकास विशेषज्ञ’मा मनोनयन गरेको थियो ।
आयोगले सम्मान गर्न लागेका महेश चौधरीले ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’ थारू समुदायका अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेका छन् । महेश २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन् । यस्तै भुलाई चौधरीले थारू लोक संस्कृति र पर्वहरूबारे अनुसन्धान गरेका छन् ।
उनको ‘हमर थारु भाषा’ नामक किताब प्रकाशित छ भने उनी पूर्वीया थारू भाषा साहित्य प्रवर्द्धनका लागि स्थापित ‘बसघरा’को अध्यक्षसमेत हुन् । सम्मानित हुन लागेको संस्था फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र महलिालाई आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेबापत थारू रत्न पुरस्कार प्रदान गरिन लागिएको आयोगले जनाएको छ ।
त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत खेलाडी विधामा जयरानी चौधरी, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी सम्मानित हुने भएका छन् । आयोगले विशेष समारोह गरेर तक्मासहित पुरस्कार प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्