‘बाल विकास केन्द्र सुधार आवश्यक’



कोहलपुर ।

सामुदायिक शिक्षा सुधारका लागि सबैभन्दा पहिला बाल विकास केन्द्र सुधार आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । शिक्षा आर्जन गर्ने प्रारम्भिक पाठशालाको रुपमा रहेका बाल विकास केन्द्रमा प्रदान गरिने शिक्षालाई व्यवस्थित बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

आइतबार कोहलपुरमा सम्पन्न बाल विकास शिक्षक कोहलपुर नगर समितिको चौथों भेलाको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले बाल विकास केन्द्रमा रहेका समस्या र समात्रानका विषयमा ध्यान दिनुपर्ने बताए । कोहलपुर नगरपालिका क्षेत्रमा रहेका बाल विकास केन्द्रमा प्रदान गरिने शिक्षा, आवश्यक पूर्वाधार तथा जनशक्ति सबै कुराको यथोचित व्यवस्था हुनुपर्ने उनीहरुको भनाइ छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले शिक्षा क्षेत्रको विकास कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकाले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरेको छ । उनी भन्छिन्, ‘शिक्षा क्षेत्रको विकासका लागि त्यसको जरो सुध्रिन आवश्यक छ ।

त्यसैले बाल विकास केन्द्र र मन्टेश्वरी सुधार आवश्यक छ । नगरपालिकाले नमुना मन्टेश्वरी बनाउने नीति लिएको छ । बाल विकास केन्द्रको सुधारमा हामी गम्भीर छौँ ।’ उनले बाल विकास केन्द्रलाई पूर्ण बालमैत्री बनाइने पनि प्रतिबद्धता जनाइन् । त्यसका लागि दक्ष जनशक्ति, शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिने बताइन् । उक्त अवसरमा उनले बाल विकास केन्द्रका शिक्षकहरुलाई नगरपालिकाको तर्फबाट मासिक सात हजारका दरले पारिश्रमिक उपलब्ध गराइरहेको बताइन् ।

बाल विकास केन्द्रका शिक्षकलाई हाल सरकारले मासिक १० हजार रुपैयाँ पारिश्रमिक उलब्ध गराउँदै आएको छ । कोहलपुर नगरपालिकामा बाल विकास केन्द्रका शिक्षकहरुले मासिक १७ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । कोहलपुर नगरपालिकाअन्तर्गत युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमालका अनुसार नेपालका ६७ प्रतिशत स्थानीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सकेका छैनन् ।

नेपालका नगन्य स्थानीय सरकारमा कोहलपुर नगरपालिका आफ्नै स्रोतबाट पारिश्रमिक उपलब्ध गराउनेमा रहेको उनले बताए । हाल कोहलपुर नगरपालिकामा ८१ वटा बाल विकास केन्द्र छन् । सम्पूर्ण केन्द्रमा शिक्षक दरबन्दी मिलान गरिएको छ । ‘बाल विकास केन्द्र अत्यावश्यक छन् । उनीहरु पछि शैक्षिकरुपमा दक्ष जनशक्ति हुने अध्ययनले देखाएको छ । बाल विकासमा अध्ययन गरेका विद्यार्थीको शैक्षिक दक्षताको स्थिति अन्यभन्दा १७ प्रतिशतले बढी हुन्छ,’ शाखा प्रमुख हमालले भने ।

बाल विकास केन्द्रको सुधारका लागि नगरपालिकाले कोहलपुर नगर शिक्षा रणनीतिक योजना तर्जुमा गर्न समिति निर्माण गरिएको उनको भनाइ छ । नगर शिक्षा समितिको निर्णयअनुसार बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सुनौलो कोशेलीको अवसर सिर्जना गरेको भन्दै त्यसको लागि दरखास्त आह्वान गरेको बताएका थिए ।

बाल विकास शिक्षक समितिका कृष्णाकुमारी थापाले बाल विका केन्द्रमा अध्ययनरत शिक्षकहरुको क्षमता विकास आवश्यक रहेकोमा जोड दिइन् । उनका अनुसार बाल विकास केन्द्रमा धेरै समस्या तथा कमी कमजोरी रहेकोले स्थानीय सरकारहरुले त्यसमा ध्यान दिन जरुरी छ । बाँके जिल्लामा पाँच सय ५८ बाल विकास केन्द्र रहेको आठ पालिकामध्ये कोहलपुर नगरपालिकाले केन्द्रमैत्री कार्य गरेको भन्दै प्रंशसासमेत गरिन् ।

उक्त अवसरमा कोहलपुरस्थित विभिन्न शिक्षक संघसंगठनका प्रतिनिधिहरुले बाल विकास केन्द्रमा रहेका समस्या समाधानका लागि सम्पूर्ण एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार