सांसद ढकालले गराए नरैनापुरमा इलाका प्रशासन पुस्र्थापना गर्न ध्यानाकर्षण



नेपालगन्ज (बाँके) ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद सूर्यप्रसाद ढकालले नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय पुनस्र्थापना गर्न ध्यानाकर्षण गराएका छन् । शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण गराउँदै उनले नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनस्र्थापना गर्न माग गरेका हुन् ।

नरैनापुरमा इलाका प्रशासन कार्यालय नहुँदा यहाँका स्थानीयले सास्ती झेल्नु परेको सांसद ढकालले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा रहेको इलाका प्रशासन कार्यालय असुरक्षाको कारण देखाउँदै २०७२ सालमा उक्त कार्यालय नेपालगन्जमा विस्थापित गरिएको थियो ।

‘यस क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा सहजै प्राप्त हुने नागरिकता बनाउनेलगायतका सेवाबाट नरैनापुरवासी वञ्चित भएका छन्,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नागरिकता बनाउन अहिले यहाँका बासिन्दा जिल्ला सदरमुकाम खलंगा आउनु परेको छ । वृद्धवृद्धा, अपांगलगायतका राज्यबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन पुगेका छन् ।’

इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनस्र्थापना गर्न माग गर्दै नरैनापुरवासीले पाँच हजार हस्ताक्षर बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई बुझाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार