नेपालगन्जमा दादुरा महामारीः के गर्दैछन् सांसद राणा ?



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकामा डा. धवलशमशेर राणा मेयर रहेका बेला २०७६ सालमा उपमहानगरपालिकालाई ‘पूर्ण खोपयुक्त’ घोषणा गरिएको थियो । तर, अहिले आएर उपमहानगरपालिकामा दादुराको महामारी फैलिएको छ । पूर्ण खोपयुक्त बनाउने होडमा खोप नलगाएका बालबालिका धेरै रहेको अवस्थामै हतारमा पूर्ण खोपयुक्त घोषणा गरियो भन्ने अहिले फैलिरहेको दादुरा संक्रमणले पुष्टि गरेको छ ।

उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दा भएका कमजोरीहरुबारे छानबिन हुनपर्ने माग एकातिर उठिरहेको छ भने सम्बद्धहरुले महामारी रोक्न आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिका नखेलिरहेको उपमहनगरपालिकाका कर्मचारीहरु गुनासो गर्छन् । विशेषगरी संघीय सरकारका तर्फबाट महामारी रोकथाममा अपेक्षित सहयोग नपाइएको बताइएको छ ।

उपमहानगरपालिकालाई ‘पूर्ण खोपयुक्त’ घोषणा हुँदा मेयर रहेका डा. राणा अहिले प्रतिनिधिसभा सदस्य छन् । प्रतिनिधिसभा सदस्य कार्यकारी पद नभए पनि स्थानीय सरकारलाई केन्द्र सरकार र मातहतका निकायसँग जोड्ने र समन्वय गर्ने भूमिका रहन्छ । यस विषयमा जिज्ञाशा राख्दा डा. राणाका स्वकीय सचिव विकास गौतमले डा. राणाले आफ्नोतर्फबाट पहल गरिरहेको बताए ।

डा. राणा दाँतको उपचारमा रहेकाले बोल्न नमिल्ने अवस्था रहेको बताउँदै उनले शुक्रबार डा. राणाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महामाखाका निर्देशकसँग दादुरा रोकथामका लागि कुनै चुक हुन नदिन कुराकानी गरेको बताए ।

महाशाखाबाट दादुरा रोकथामका लागि खोपलगायत साधनको अभाव नरहेको जानकारी दिइएको उनको भनाइ छ । यसैगरी, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसँग पनि डा. राणाले कुरा गरेको र आइतबारबाट सबै बालबालिकालाई खोप लगाउनेगरी व्यवस्था गर्न आग्रह गरेको गौतमले बताए । थप समन्वयका लागि पनि डा. राणाले पहल गरिरहेका उनले दाबी गरे ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले डा. राणाले टेलिफोन सम्पर्क गरी सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको जानकारी दिए । यद्दपि उनले एकैपटक सबै बालबालिकालाई खोप लगाउन प्राविधिक जटिलताहरु रहेको बताए । तर आइतबारबाट खोपको रफ्तार बढाउने तयारी भने गरिएको उनले दाबी गरे ।

थप ३० हजार डोज खोप आइपुग्यो

बाँकेमा थप ३० हजार डोज दादुरा रुबेलाको खोप आइपुगेको छ । बिहीबार बेलुका उक्त खोप नेपालगन्ज आइपुगेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा दादुराका बिरामी बढ्न थालेपछि यही पुस २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन भइरहेको छ । नगरका विभिन्न १५ वटा खोप केन्द्रबाट हरेक दिन बिहान १० बजेदेखि साँझ चार बजेसम्म खोप लगाउने गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस ३० गते शनिबार