19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कानुनी लडाइँसमेत लड्छुँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७९  

बद्रिप्रसाद जैशी
(१) वडाध्यक्ष, कोहलपुर नगरपालिका

फूलबारी टोल–आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे सडक योजनाको पृष्ठभूमि बताइदिनूहोस् न ?

म अध्यक्ष निर्वाचित भइसकेपछि योजनाको विकास कसरी गर्न सकिन्छ भनेर बढी केन्द्रित छुँ । त्यसका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसम्म आफ्नो पहुँच पुगेसम्म प्रयास गर्दै आइरहेको छुँ । सोही क्रममा चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारद्वारा योजना तर्जुमा गर्ने समय आयो ।

म फूलबारी टोल–आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे सडक निर्माणको कुल लागतसहित योजना माग्न प्रदेशमा पुगेँ । यो योजनाको कुल स्टीमेट ८३ लाख रुपैयाँ थियो । यसको फाइल बोकेर म धेरैपटक प्रदेशमा गएको छुँ । तत्कालीन प्रदेश सदस्य उषा पुन दिदीलाई लिएर म योजना माग्न गएको थिएँ । मैले प्रपोजल पेस गरे । यो योजनाको लागि बारम्बार उषा दिदीलाई भने । एक दिन उहाँले मलाई फोन गरेर अध्यक्षज्यू तपाईंले भनेअनुसार योजनामा बजेट छुट्याउन सकिनँ ।

तर तपाईंको योजनामा मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको छ भन्नुभयो । पछि प्रदेशको बजेट सिलिङ हेर्दा पनि फूलबारी टोल, आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे सडक कोहलपुर नगरपालिका वडा नम्बर १ नै उल्लेख गरिएको छ । त्यसपछि मैले दिदीलाई बधाइ दिएँ ।

यो योजनामा बजेट पार्न मैले धेरै मेहेनत गरेको छुँ । यो योजना २५ लाखको भएकोले वडामार्फत कार्यान्वयन गर्ने अवस्था छैन । वडाले १० लाखभन्दा कम बजेटको मात्रै योजना कार्यान्वयन गर्न पाउँछ । त्योभन्दा माथिको योजना नगरबाट नै कार्यान्वयन हुन्छ । तर त्यहाँ मिलेमत्तो गरेर यतिसम्म भएको रहेछ ।

तपाईंले दुःख गरेर ल्याएको योजना वडा नम्बर ११ मा कार्यान्वयन भइरहेको छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउनुभयो ?

मेरो चुनावी प्रतिबद्धताअनुसार योजना आयोभन्दा स्थानीयसमेत खुसी भएका थिए । म अरु काममा केन्द्रित भए । पछि भदौ बित्यो, अजोज बित्यो । म कात्तिकमा नगरपालिकामा योजना कार्यान्वयन गर्ने शाखामा गएँ । जुन शाखामा गए पनि कर्मचारी हामीलाई थाहा छैन भन्छन् । राम्रो जवाफ नै आउँदैन । म धाइरहेको छुँ । यसरी झन्डै तीन महिना बित्यो ।

केही दिन पहिले घरबाटै आज जसरी पनि योजनाको विषयमा यथार्थ पत्ता लगाउँछु भन्ने अठोटका साथ नगरपालिका आएँ । पहिला लेखामा गएँ । लेखाका कर्मचारीले इञ्जिनियरलाई थाहा हुन्छ भन्नुभयो । पछि नगरपालिकाका इञ्जिनियर (बालकृष्ण महतारा) कहाँ गएँ । म उहाँसँग किताबै लिएर गएको थिएँ । उहाँले मलाई तपाईंले भन्नुभएको योजना वडा नम्बर ११ मा सञ्चालन भइरहेको छ भन्नुभयो । म एकपटक छाँगाबाट खसेजस्तै भएँ । मैले दुःख गरेर ल्याएको योजना कसरी वडा नम्बर ११ मा गयो भनेर सोधेँ ।

बालकृष्ण सरले नै भन्नुभयो, म वडा नम्बर ११ मा बस्ने भएकोले मैले यो योजनाको विषयमा वडाध्यक्षलाई सोधे । वडाध्यक्षज्युले पनि फूलबारी टोल वडा नम्बर ११ मा छ भन्नुभयो । उहाँ आउनुभयो र सम्झौता गर्नुभयो भन्नुभयो । भोलिपल्ट नै मैले महतारा सरलाई बोलाएर आर्नेको घर र चन्द्रप्रकाश रेग्मीको घर र मान्छे देखाएँ । उहाँहरु अनुगमन गरेर जानुभयो ।

स्वयम् उहाँले योजना कार्यान्वयनमा गल्ती भएको स्वीकार गर्नु भएको छ । उहाँले मलाई यो योजना जसरी पनि कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हामी यतिकैमा रोकिनेवाला छैनौं । जसरी पनि लुकेर अर्को वडामा पु¥याइएको योजना कार्यान्वयन गरेर छोड्छौँ ।

तर वडा नम्बर ११ का वडाध्यक्ष त अहिले पनि योजना आफ्नै वडाको भएको दाबी गरिरहनु भएको छ नी ?

उहाँको दाबी सय प्रतिशत गलत छ । कसैले आत्मरतिका लागि दाबी गर्न पायो । तर सत्य त्यो होइन । अस्ती स्वयम् उहाँले मलाई आर्नेको घर भनेको हाम्रोमा आर्यनको घर हो भनेर यसो गरेको हो भनेर मलाई नै भन्नु भएको छ । यो गल्ती भएकै हो । बाहिर मिडिया बाजी गर्नुभन्दा मिलायौं भन्नुभयो । बरु मेरै वडाको कुनै योजनामा मिलाउला भन्नुभयो ।

यदि उहाँकै वडाको योजना भएको भए मलाई यस्तो किन भन्नुहुन्थ्यो । आफ्नो दाबी गरिहाल्नु हुन्थ्यो नी । वडाध्यक्षले नै इञ्जिनियरले सोधेपछि मैले फूलबारी टोल छ भनेकै हो । उहाँले अहिले केस डाइबर्ट गर्न खोजिरहनु भएको छ । उहाँले बोल्नका लागि मात्रै बोलिरहनु भएको छ । उहाँले यो हाम्रो आन्तरिक कुरा हो, नगरपालिकाको कुरा हो मिलेर हल गरौला भन्नु भएको छ ।

योजना अर्को वडामा कार्यान्वयन भएको थाहा पाएपछि वडा समितिको बैठकसमेत बसेको थियो । केके निर्णय गर्नु भएको छ ?

यो कुरा थाहा पाएपछि हामी तत्काल वडा समितिको बैठक बस्यौं । मेरै अध्यक्षतमा पुस २६ गते वडा समितिको बैठक बसेको थियो । पछि उहाँका धेरै व्यक्तिसमेत सहभागी हुनुहुभयो ।

उक्त बैठकमार्फत हामीले कोहलपुर नगरपालिका वडा नम्बर १ मा प्रदेश सरकारबाट शसर्त अनुदानमा फूलबारी टोल, आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे सडक योजना परेता पनि सो योजना वडा नम्बर ११ मा कार्यान्वयन भइरहेको जानकारी आएकाले यस वडामा आएको योजना शसर्त अनुदानअन्तर्गतको योजना वडा नम्बर ११ मा भइरहेको काम रोकी सो को सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित निकायमा सिफारिस गरिदिनको लागि कोहलपुर नगरपालिकालाई अनुरोध गरी पठाउने निर्णय गरिएको छ ।

यस्तै हाम्रो योजना हाम्रै वडामा कार्यान्वयन हुँदैन भने शसक्तरुपमा अघि बढ्ने सहमति भएको छ । पहिला नगरपालिकालाई ध्यानाकर्षण गराउने भनेका छौँ । मेयरसाबले समेत गलत भएको हो, हामी हल गर्छौं भन्नु भएको छ । यदि हाम्रो माग सम्बोधन भएन भने सम्पूर्ण जनताले नगरपालिका घेरा हाल्ने भनेका छन् ।

अहिले मैले मेयरसाबले सबै कुरा मिलाउछु भन्नु भएको छ भनेर जनतालाई रोकेको छुँ । छिटो समस्या समाधान भएन भने जनता स्वयम् आन्दोलन गर्न तयार भएर बसेका छन् । मैले त माग पूरा नभए कानुनी लडाइँ लड्ने र आफ्नो योजना कार्यान्वयन गराउने सोचेको छुँ । म सबैलाई भन्न चाहन्छु, यथार्थ के हो मैले त्यो वडा नम्बर १ कै योजना हो । त्यसका लागि प्रदेशमा चारपटक मैले नै धाएको हो । अरु कसैले
होइन ।

यस विषयमा कोहलपुरका नगर प्रमुखले समेत चासो देखाउनु भएको छ । तपाईंलाई के भन्नु भएको छ उहाँले ?

मसँग मेयरसाबले राम्रो कुरा गर्नु भएको छ । यो कसले मिस्टेक ग¥यो, यसमा गम्भीर छौँ भन्नु भएको छ । मलाई न्याय दिनेमा उहाँले जोड दिनु भएको छ । म त भन्छु, यो कर्मचारीको लापरबाही हो । यसमा नगरप्रमुख, उपप्रमुखहरु कसैको मिस्टेक छैन । मैले तीनजनाको गल्ती देखेको छुँ । पहिलो वडाध्यक्षको हो ।

उहाँले किन लिनुभयो । के योजनामा वडा नम्बर ११ लेखिएको थियो त । ११ त लेखिएको थिएन । त्यसैले उहाँको कमजोरी छ । त्यसपछि इञ्जिनियर र प्राविधिकले साह्रै ठूलो गल्ती गरेका छन् । यी तीनजनाको मिलेमतोमा भएको काम हो । समस्या हल भइहाल्यो भने अर्को कुरा नत्र म त कानुनी हल खोज्छुँ ।

प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७९     12:41:29 PM  |