मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढीमा रहेको श्री बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको १४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र बाँसगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्काको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारालाई आत्मसाथ गर्दै वि.स.२०६५ संस्थाको स्थापना भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले संस्थाको प्रगतिको कामना गर्दै सहकारीको माध्यमबाट स्वरोजगारी सिर्जना गरी बाँसगढीको समृद्धिसँग जोडेर अगाडी बढाउन सबैलाई अनुरोध गरे ।
‘बाँसगढी नगरमा मात्रै ५२/५३ वटा बचत तथा ऋण सहकारी संस्थाहरु छन्’ उनले भने, ‘तर उद्यमशिलतातिर कुनै पनि छैनन् । त्यसैले सबै सहकारीहरुले निम्न आय स्तरका किसानहरुको आयसँग जोडेर कार्यक्रम ल्याउनुपर्छ ।’ साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बद्रि नाथ बरालले प्रस्तुत गरेका थिए । उनले संस्थाको शेयर पुँजी दुई करोड ४७ लाख ७७ हजार तीन सय रहेको बताए । संस्थाको खुद नाफा पचास लाख एकसट्ठी हजार पाँच सय असी रुपैयाँ रहेको कोषाध्यक्ष बरालले जानकारी दिए ।
लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सदस्य भगवन दिन पोख्रेलले संस्थालाई अगाडी बढाउन विभिन्न विनियमहरु बनाई अगाडी बढिरहेको दाबी गरे । संस्थाका अध्यक्ष अधिकारीले संस्थाले मुनाफा कमाउनु भन्दा शेयर सदस्यहरुको हितका लागि काम गरिरहेको र त्यही अनुरुप यसवर्ष ब्याजदरमा समेत बदलाव भएको बताए ।
साधारण सभाको उद्घाटन समारोहमा बाँसगढीका निर्वतमान नगर प्रमुख शालिकराम अधिकारी, जनप्रतिनिधि लगायतले संस्थाको सबल पक्ष र आगामी भविष्यमा अझ प्रभावशाली बन्न संस्थाले खेल्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, नियमित बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट कर्मचारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्