लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गर्दै



बाँके ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि आज नेकपा एमालेका लिला गिरीले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गिरीले बहुमत जुटाएर मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने भएका हुन् ।

लुम्बिनीमा मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाएर दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ४ बजेसम्मको समय सीमा दिएका छन् । मंगलबार नै बहुमत जुटाएर सत्तारुढ दलहरुले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेका थिए ।

गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लगाएर आज मात्रै दाबी पेश गरिने नेकपा माओवादी केन्द्रकी सांसद कृष्णा केसी (नमुना)ले जानकारी दिइन् । ‘बुधबार बिहान ११/१२ बजेसम्म मन्त्रालयको भागबन्डा टुंगो लाग्छ’ देउखुरीमा रहेकी सांसद नमुनाले मिसन टुडेसँग भनिन्, ‘त्यसपछि बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश हुन्छ ।’

लुम्बिनीमा नेकपा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा सरकारमा जान चाहेका
छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा जान चाहेको बताइएको छ । प्रदेशमा अहिलेसम्म नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्रै प्रतिपक्षमा बस्ने प्रष्ट धारणा राखेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन् । यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २७ गते बुधबार