बाँके ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । आगामी पाँच वर्षे कार्यकालको नेतृत्व आधा–आधा गर्ने नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार समझदारी भएको हो । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको जानकारी दिए ।
‘दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ, तर लिखित हैन’, उनले भने, ‘समझदारी अनुसार सुरुको साढे २ वर्ष एमालेले र त्यसपछिको साढे २ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछन् यसै अनुसार अघि बढ्ने हो ।’ लुम्बिनी सरकारको नेतृत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको थियो ।
माओवादी केन्द्रले लुम्बिनीलाई ‘जनयुद्ध’को उद्गमस्थल र पार्टीको संगठन अन्य प्रदेशको तुलनामा राम्रो भएको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको थियो । लुम्बिनी प्रदेश सभामा एमालेका २९ जना र माओवादी केन्द्रका १० सांसद रहेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता लिला गिरी निकटका एक नेताले पनि सरकारको नेतृत्व आलोपालो गर्ने केन्द्रमा सहमति भएको स्वीकार गरेका छन् । बुधबार भएको समझदारी अनुसार माओवादी संसदीय दलका नेता जोखबहादुर महरा साढे २ वर्षपछि लुम्बिनीको मुख्यमन्त्री हुनेछन् ।
यसअघि लुम्बिनी, गण्डकी र प्रदेश १ को नेतृत्व ५ वर्ष पुरै कार्यकाल एमालेले, कर्णालीमा माओवादी केन्द्रले ५ वर्ष तथा मधेश प्रदेश जसपा र जनमत पार्टी, बाग्मतीमा माओबादी र एमाले र सुदूर पश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।
तर प्रदेश १ मा पनि एमालेलाई पुरै कार्यकाल नेतृत्व दिएको भन्दै माओवादी केन्द्र असन्तुष्ट भई सरकारमा सहभागी भएको छैन । लुम्बिनीमा पनि आलोपालो नेतृत्व हुनुपर्ने भन्दै माओवादीका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दवाव दिँदै गएपछि समझदारी बनेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष बरालले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्