नेपालगन्ज (बाँके) ।
जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अवैध तथा मापदण्डविपरीतका उक्त उद्योगहरु बन्द गर्न निर्देशन दिएपछि जिल्लाका सबै त्यस्ता उद्योग बन्द भएका हुन् ।
जिल्लामा २२ वटा त्रसर उद्योगहरु थिए ।
यसभन्दा अघि पाँचवटा बन्द अवस्थामा थिए भने पछि १७ वटा मापदण्ड नपुगेका क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएको हो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रहरीलाई अवैध तथा मापदण्डविपरीतका उद्योगहरु बन्द गर्न निर्देशन दिएका थिए । जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
‘एउटा सिडिओ कति ठाउँ भ्याउने । जता पनि जान सकिँदैन,’ उनले भने, ‘जिल्लामा सञ्चालित अवैध तथा मापदण्डविपरीतका क्रसर बन्द गर्न मैले प्रहरीलाई निर्देशन दिएको थिएँ ।’ सोहीबमोजिम विकास निर्माणका काममा प्रयोग गरिएका बाहेक अन्य अवैध तथा मापदण्डविपरीत क्रसर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जनाए । ‘जिल्लाका सबै क्रसर बन्द गरेका छौं,’ उनले भने, ‘सिडिओ’सापको निर्देशनपछि हामीले अवैध तथा मापदण्डविपरीतका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द गरेका हौं ।’
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार मापदण्डविपरीतका क्रसर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ । यता क्रसर व्यवसायीहरुले यसको विरोध जनाएका छन् । राज्यले चाहेको बेला बन्द र खुला गर्ने नीतिले विकास निर्माणमा असहजता भएको उनीहरु बताउँछन् ।
नवीकरण छुटेकालाई नवीकरण गर्ने मौका दिनुपर्ने एकजना क्रसर व्यवसायीले बताए । ‘पहिला उद्योग दर्ता गर्दा एक किलोमिटरको मापदण्ड थियो,’ उनले भने, ‘पछि सरकारले दुई किलोमिटर बनायो ।’ राज्यले क्रसर व्यवसायीको समस्यामा गम्भीर नभइ एकलौटीरुपमा नीति बनाउँदा समस्या भएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्