बाँके ।
नेपाली यात्रु चढेको बस भारतको लखनउ नजिक दुर्घटना हुँदा तीन नेपालीसहित चारजनाको मृत्यु भएको छ । आइतबार राति दुर्घटना हुँदा बसमा सवार रहेका तीन नेपालीसहित चारजनाको मृत्यु भएको हो ।
टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘सीमापारि भारतीय प्रहरी कोतवालीले दिएको सूचनामा यी तीनजनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ,’ कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले भने ।
भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउदेखि झन्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा भएको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा तीनजना नेपालीसहित चारजनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्