कोहलपुर नगरपालिकामा भ्रष्टाचारको आशंका: एउटा वडामा योजना, अर्को वडामा सडक कालोपत्रे



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम (रातो किताब)मा लुम्बिनी प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम शसर्त अनुदानमा आठ योजना समावेश छन् । ती योजनाअन्तर्गत कोहलपुर नगरपालिकामा पर्यटन प्रवद्र्धन, भाषा र संस्कृति, उद्योग तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

यी योजनाको बजेट न्यूनतम् पाँच लाखदेखि अधितम् २५ लाखसम्मका छन् । माथि उल्लेखितमध्ये यातायात पूर्वाधार शीर्षकअन्तर्गतको योजना हो, ‘फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे बाटो ।’ यसको लागत छ, ‘२५ लाख रुपैयाँ ।’ यो योजना रातो किताबको पेज नम्बर एक सय २७ को योजना नम्बर पाँच सय ५३ मा उल्लेख छ । प्रदेश सरकारले कोहलपुर नगरपालिका वडा नम्बर १ का लागि उक्त बजेट विनियोजन गरेको थियो ।

सुन्दा पनि अचम्म लाग्न सक्छ, तर योजनाअन्तर्गत कालोपत्रे निर्माण कार्य भने वडा नम्बर ११ मा भइरहेको छ । कोहलपुर–११ मा फूलबारी टोल त छ, तर नगरपालिकाको रातो किताबमा उल्लेख गरिएको ‘फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे बाटो’ बनाउने योजना वडा नम्बर ११ को होइन । कोहलपुर नगरपालिकाका इञ्जिनियर बालकृष्ण महतारा भन्छन्, ‘किताबमा योजना छ । योजना कार्यान्वयन हुने वडा नम्बर उल्लेख गरिएको छैन ।

हामीलाई यस्तो कुरा हिजो मात्रै थाहा भयो । यो वडा नम्बर १ कै योजना हो ।’ ‘वडा नम्बर १ मा कार्यान्वयन हुनुपर्ने उक्त योजनाको टेन्डर आह्वान भएर पनि सम्झौता भइसक्यो,’ उनले भने, ‘सम्झौताअनुसार अहिले वडा नम्बर ११ मा काम भइरहेको छ ।’ उक्त योजनामा वडा उल्लेख नगरिएका कारण प्राविधिक झुक्किएको महतारा बताउँछन् । वडा नम्बर ११ का वडाध्यक्ष कल्पना शर्माले भने यो योजना आफ्नै भएको दाबी गर्छिन् । प्राविधिकहरुको कमजोरीका कारण यो योजना १ नम्बरको जस्तो देखिएको उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाका इञ्जिनियर महतारा वडा नम्बर ११ फूलबारी टोलको स्थानीय रहेको र उनकै संलग्नतामा एउटा वडाको योजना अर्को वडामा गुपचुपरुपमा काम गराएको वडा नम्बर १ का स्थानीयको आरोप छ । इञ्जिनियर महताराले भने यो आरोप सत्य नभएको दाबी गरेका छन् । नगरपालिका स्रोतका अनुसार उक्त योजनाको स्टीमेट गर्ने प्राविधिक चाहिँ कृष्ण बुढा हुन् ।

मिसन टुडेको सम्पर्कमा आएका उनै बुढा भन्छन्, ‘वडाध्यक्षज्यूले भनेपछि म गएकै हो । उहाँकै निर्देशनमा मैले योजना स्टीमेट पनि गरेँ । सबै कुरा नापेँ । योजनाको काम भइरहेको छ ।’ फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे बाटो वडा नम्बर ११ मा निर्माणका लागि गत भदौ २० गते टेन्डर आह्वान भएको थियो ।

मंसीर १२ गते निर्माण व्यवसायीसँग सम्झौता गरेर काम भइरहेको छ । २५ लाखको योजना भए पनि २० लाखमा सम्झौता गरिएको थियो । खुसी विल्डर्सले नगरपालिकासँगको सम्झौतामा काम गरिरहेको छ । अहिलेसम्म वडा नम्बर ११ मा उक्त क्षेत्रको दुई सय ३६ मिटर नाला निर्माण भइसकेको छ । माटो पटान गरेर कालोपत्रे गर्न मात्रै बाँकी छ ।

इञ्जिनियर दोषी हुन
बद्रिप्रसाद जैशी, वडाध्यक्ष (१)

फूलबारी टोल आर्नेको घरदेखि चन्द्रप्रकाश रेग्मीको घरसम्म पक्की नालीसहित कालोपत्रे बाटो बनाउने योजना वडा नम्बर १ कै हो । यो योजना कार्यान्वयनका लागि धेरैपटक म कर्मचारी तथा प्राविधिक कहाँ गएको छुँ । म जहिल्यै जाँदा पनि काम हुँदैछ, प्रक्रिया सुरु हुँदैछ भन्ने जवाफ मात्रै पाउँथे । प्राविधिकहरु मिलेमत्तोमा वडा नम्बर ११ मा काम भइरहेको छ भन्ने कुरा थाहा भयो ।

गत भदौ महिनादेखि कार्यान्वयन भइरहेको योजना हामीले अहिले थाहा पायौं । यसको काम भित्रभित्रै भइरहेको रहेछ । यो गम्भीर कुरा हो । योजना कार्यान्वयनमा षड्यन्त्र गरिएको छ । आर्ने र चन्द्रप्रकाश भन्ने वडा नम्बर १ कै मानिस हुन् । दोष इञ्जिनियरको हो ।

वडा नम्बर ११ को फूलबारी टोलमा इञ्जिनियरको पनि घर छ भन्ने कुरा आइरहेको छ । वडाध्यक्षले पनि आफ्नो दाबी गरिरहनु भएको छ । हामी यसबारे विस्तृतरुपमा बुझ्दै छौँ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिृकत आएपछि सबै कुरा जानकारी गराउछौं । हाम्रो योजना जसरी पनि फिर्ता गर्छौं ।

योजना हाम्रै वडाको हो

कल्पना शर्मा, वडाध्यक्ष (११)

यसमा तपाईंहरु केही नलेखिदिनूहोस् । हाम्रो सहमति भइसक्यो । नगरपालिकाले समस्या समाधान गर्ने हो । मेयर’साब आएपछि व्यवस्थापन गर्ने भन्ने कुरा भइसकेको छ । फूलबारी टोल भनेर प्रष्ट कसैको छैन ।

यो विषयमा तपार्इंहरु केही नखेल्नूहोस् । पछि हामी मिलाएर काम गर्छौं । म दोषी देखिन्छु भने आउनूहोस् । हेर्नूहोस् । फोनबाट कुरा किन गर्नुप¥यो । म कहाँ आउनु बसेर छलफल गरौं न त । आर्ने पनि हामै्र वडाका हुन्, रेग्मी पनि हाम्रै वडाका हुन्, आउनूहोस् म देखाइदिन्छु तपाईंलाई ।

योजनामा वडा उल्लेख छैन

बालकृष्ण महतारा, इञ्जिनियर

रातो किताबमा योजनाको नाम छ । वडा उल्लेख गरिएको छैन । यो योजना त वडा नम्बर १ कै हो ।

तर सबै प्रक्रिया पूरा भएर काम पनि भइरहेको छ । सुरुमा वडा नम्बर ११ का वडाध्यक्ष फूलबारी टोल हाम्रो वडामा छ भनेपछि प्राविधिकले गएर काम गरेछन् । योजना कार्यान्वयनमा समेत गइसक्यो । वडा नलेखेको हुनाले प्राविधिकहरु झुक्किए छन् ।

सबै कुरा बुझेको भएर थाहा हुने थियो । पहिल्यै थाहा भएको भए हुन्थ्यो । हामी वडा नम्बर १ मा पनि गएर अनुगमन ग¥यौं । चन्द्रप्रकाश रेग्मी भन्ने त्यहाँ कै हुनुहुँदो रहेछ । वडा नम्बर ११ का अध्यक्षज्यू आफ्नैमा छ भन्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २६ गते मंगलबार