22 March 2023  |   बुधबार, चैत्र ८, २०७९

अमेरिकाका पूर्व अधिकारीहरूको दाबी– युक्रेनले जित्ने सम्भावना न्यून

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २४, २०७९  

एजेन्सी ।

अमेरिकाकी पूर्व परराष्ट्रमन्त्री कोन्डालिजा राइस तथा पूर्व रक्षामन्त्री रोबर्ट गेट्सले नाटकीय मोड नआउन्जेल युक्रेनको विजयको सम्भावना न्यून रहेको बताएका छन् । द वाशिङटन पोस्टमा शनिवार प्रकाशित आलेखमा राइस र गेट्सले युक्रेनको अर्थतन्त्र तथा सेना पूर्णरूपमा पश्चिमको अनुदानमा निर्भर रहेको पनि स्वीकार गरेका छन् ।

पश्चिमले दिएको जीवनरेखाको भरमा मात्र युक्रेनको सैन्य क्षमता र अर्थतन्त्र अडिएको बताउँदै उनीहरूले निकट भविष्यमा युक्रेनले सफल आक्रमण गर्न नसकेमा राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई पश्चिमले रुससँग सम्झौता गर्न बाध्य बनाउने तर्क गरेका छन् । जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सम्झौता नगर्ने अड्डी कसेका छन् ।

गत शरद यामदेखि युद्धमोर्चा लगभग स्थिर छ । रुसी सैनिकहरूले युक्रेनीहरूलाई बाखमुतरआर्त्योमोव्स्क क्षेत्रमा कठोर संघर्षका साथ रोकेर राखेका छन् ।

हालै अमेरिकाका एक भाडाका सैन्य कमान्डरले युक्रेन असाधारण हताहती बेहोर्न बाध्य भएको स्वीकार गरेका थिए । अनि क्यानडाका लागि युक्रेनका राजदूत भादिम प्रिस्ताइकोले आफ्नो पक्षले बेहोरेको हताहती विशाल र अपाच्य भएको बताएका थिए ।

किएभले वसन्त याममा ठूलो आक्रामक कारवाही गर्ने सार्वजनिक दाबी गरेको छ । तर राइस र गेट्सले युक्रेन यस युद्धमा महिनौंसम्म नभई केही हप्ता मात्र टिक्न सक्ने बताएका छन् ।

त्यसैले युक्रेनलाई थप भारी हतियार पठाउनुपर्ने उनीहरूको तर्क छ । अमेरिकाले युक्रेनलाई गत फेब्रुअरीदेखि सैन्य र आर्थिक सहायताका लागि ११० अर्ब डलरभन्दा बढी रकम निकासा गरिसकेको छ । तर वाशिङटनले युक्रेनलाई भारी ट्यांक नपठाउने उनीहरू बताउँछन् । जर्मनी र अन्य साझेदारले युक्रेनको यो आवश्यकता पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ ।

रुसले युक्रेनलाई हतियार उपलब्ध गराउनुले द्वन्द्वको परिणाममा कुनै असर नपार्ने बताउँदै आएको छ । यसले शत्रुता थप बढाउने अनि रक्तपात पनि चर्काउने रुसको भनाइ छ ।

प्रकाशित मितिः आइतवार, पुस २४, २०७९     10:44:37 AM  |