हुलास खाद्य उद्योगद्धारा विपन्न र असहायलाई न्यानो कम्मल वितरण



कोहलपुर : कोहलपुर–१४ पार्वतीपुरस्थित हुलास खाद्य उद्योगले चार सय जनालाई न्यानो कपडा वितरण गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्योगले चार सय जना  विपन्न तथा असहाय नागरिकलाई न्यानो कम्पल र चिउरा वितरण गरेको हो । उद्योगका जनरल म्यानेजर ऐन चक्रवर्तीका अनुसार उद्योगकी संस्थापक स्वर्गीया माला गोल्छाको १९ औँ पुण्यथितिको अवसरमा विपन्न तथा असहाय नागरिकलाई न्यानो कपडा र खाद्यन्न वितरण गरिएको छ ।


उनले हरेक वर्ष जनावरी ५ तारिखका दिन गोल्छाको सम्झनामा उद्योगले समाजमा रहेका विपन्न, असहाय तथा आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाई राहत वितरण गर्दै आएको उनले बताए । ‘हामीले तीन वर्षदेखि निरन्तर हरेक वर्ष सहयोग गर्दै आएका छौँ । यो वर्ष पनि कार्यक्रम सम्पन्न भएको छ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेका हौँ ।’ जनरल म्यानेजर चक्रवर्तीले भने । यस्तै उनले कोहलपुर र नेपालगन्जमा रहेका दुई वटा सामाजिक संस्थालाई समेत सहयोग गरिएको उनको भनाइ छ । उनले मानव सेवा आश्रम नेपालगन्जमा आश्रित जीवन बिताइरहेका नागरिकका लागि ३६ थान न्यानौ कम्मल र एक प्याकेट चिउरा वितरण गरिएको बताए ।

यस्तै नीलसागर नेपालगन्जलाई १५ थान, नीलसागर कोहलपुरलाई २६ थान र समाज सेवा संस्था नेपाल कोहलपुरको समन्वयमा ११ जनालाई पनि न्यानो कम्मल र चिउरा निःशुल्क वितरण गरिएको थियो । ‘बाँकेमा अध्यधिक चिसो बढ्दै गएको छ । यहाँका नागरिकहरुको अवस्था नाजुक हुँदै गएको छ । हरेक वर्ष हामीले यस्तो काम गर्दै आएका छौँ । यो हाम्रो कर्तव्य पनि हो । यसलाई कार्यक्रमलाई हामी हरेक वर्ष निरन्तरता दिनेछौँ,’ उनले भने ।

हुलास खाद्य उद्योग कोहलपुर–१४ हवल्दारले प्रत्येक वर्ष राहत वितरण गर्दै आएको छ । उद्योगका अनुसार तीन वर्षदेखि अहिलेसम्म कोहलपुर क्षेत्रका कूल १ हजार पाँच सय भन्दा बढी नागरिकलाई सेवा दिइएको छ । यसपटक पनि विगतका वर्षहरु झै कोहलपुर, जानकी तथा नेपालगन्ज क्षेत्रका अति विपन्न व्यक्ति, अपांंगता भएका व्यक्ति तथा सामाजिक क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई प्राथमिकताका आधारमा राहत वितरण गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस २२ गते शुक्रबार