दाङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । आइतबार नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।
‘सातवटा प्रदेशमध्ये हाम्रो बलियो उपस्थिति रहेको लुम्बिनी र प्रदेश नं १ हो । जसको जहाँ धेरै सांसद रहन्छन् त्यहाँ त्यो पार्टीले सरकारको दाबी गर्नु स्वाभाविक हो’ उनले पत्रकारहरुसँग भने । तर, अझै कसले कहाँ पाउने भन्ने छिनोफानो केन्द्रबाट नटुंगिएको र छिट्टै टुंगो लाग्ने उनको भनाइ रहेको थियो ।
यसअघिको गठबन्धनले देशलाई निकास दिन नसकेकाले अहिलेको गठबन्धन बनेको उनको दाबी छ । नेता पोखरेलले सरकारमा सहभागी सबै दललाई समन्वय गरेर अगाडि जाने अभिभावकत्व एमालेको जिम्मेवारीमा आएकाले सोहीअनुसार नेतृत्व गर्ने बताए ।
पोखरेलले लुम्बिनी प्रदेशबाट संघीयता कार्यान्वयनको सुरुवात भएको र त्यो कामको नेतृत्व आफ्नै समयमा गर्न पाएकोमा खुशी लागेको बताए । पोखरेल नेतृत्वको समयमा प्रदेशको राजधानी देउखुरी तोक्ने तथा नाम लुम्बिनी राख्ने काम भएको थियो ।









प्रतिक्रिया दिनुहोस्