लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ



लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा बनेको लुम्बिनी प्रदेश सभा भवनको बैठक हलमा पहिलोपटक नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।

बाँके ।

लुम्बिनी प्रदेशसभाका सदस्यहरुले स्थायी राजधानी दाङ देउखुरीमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका थिए । प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले नै पद तथा गोपनियताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ ।

त्यही नियमावली अनुसार प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

स्थायी राजधानीमा बनेको प्रदेश सभा भवनमा सभा हल, भुइँतलामै प्रदेश सभा बैठक कक्ष, सभामुखको रोष्ट्रम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, ड्रेसिङ रुम, शौचालयसहितका संरचना रहेका छन् ।

त्यस्तै प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कोठा, मतदान गर्ने कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू रहेका छन् । अहिले निर्माण भएको प्रदेश सभाको भवन अस्थायी हो । स्थायी भवनको निर्माण केही समयपछि सुरु हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

आज प्रदेशसभाको अधिवेशन

आइतबार प्रदेशसभा सदस्यहरुको सपथग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन आज हुँदैछ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्नेछन् ।

गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार भुसालको जन्ममिति २०१० साल जेठ ७ गते उल्लेख छ ।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने लागेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १८ गते सोमबार