नेपालगन्जमा बढ्दै गुण्डागर्दीः खुँडा र खुकुरी प्रहारबाट तीन गम्भीर घाइते



बाँके ।

नेपालगन्जमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । एक समूहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह एवं उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका हुन् । ६ जनाको संख्यामा भारतीय नम्बर प्लेटको आएका उनीहरुले आक्रमण गरेका हुन् ।

आइतबार दिउँसो १ बजेतिर नेपालगन्ज ४ गणेशपुरस्थित आफन्तको घरमा पुगेका बेला उनीहरुमाथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताए । घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार पश्चात थप उपचारका लागि लखनउ रिफर गरिउको छ ।
घाइते मध्ये अनुरागको अवस्था गम्भिर रहेको छ । उनको शरिरका विभिन्न भागमा गहिरो चोट छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले खुँडा र खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको बताए ।

डिएसपी घर्तीले पक्राउ परेका ब्यक्तिको नाम भने उल्लेख गर्न चाहेनन् । ‘चार जना ब्यक्ति हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने । यस्तै सांघातिक आक्रमणको तरुण दलले घोर भत्र्सना गरेको छ । नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमिति सदस्य अनुराग, उज्ज्वल र शुभमको ज्यान जाने गरी भएको सांघातिक आक्रमणको घटनाप्रति तरुण दलले घोर भत्सर्ना गर्दै आक्रमणमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको हो ।

तरुण दल बाँकेका सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका आपराधिक गिरोहले तरुण दलका सदस्यहरुमाथि ज्यान लिने गरी आक्रमण गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तीमार्फत नगरमा निर्वाधरुपमा हिंड्डुल गरी आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । पीडितलाई न्याय र दोषीमाथि कडा कारवाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी तरुण दलले दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १७ गते आइतबार