नेपालगन्ज (बाँके) ।
असोजपछि पहिलोपटक बाँकेस्थित जमुनाह नाकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । बिहीबार ५२ जना शंकास्पद व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्दा ३० वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जाजरकोटकी ति महिला केही समय पहिला भारतमा रोजगारीका लागि पुगेकी थिइन् । बिहीबार सीमा नाकाबाट घर फर्किंदै गर्दा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । यो केस असोजपछि पहिलो भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जनाए ।
‘बिहीबार एकजना महिलामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘संक्रमित महिला यहाँ बसोबास गर्ने हुनुहुन्न । रोजगारीका लागि भारत गएर फर्किनु भएकाले उतैबाट संक्रमण भएर आउनु भएको हुन सक्छ ।’
कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिलालाई होम क्वारेन्टाइनमा रहने गरी सम्बन्धित ठाउँमा पठाइएको उनको भनाइ छ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै जाँदा त्यसको जोखिममा नेपाल पनि पर्ने हुँदा सीमा क्षेत्रमा थप सजगता अपनाइएको उनी बताउँछन् ।
‘अहिले सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘सीमा क्षेत्रमा थप सजगता अपनाएका छौं ।’