नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बालसुधार गृहबाट चारजना फरार भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले सुधार गृहमा सजाय काटिरहेका चारजना फरार भएको पुष्टि गरे पनि विस्तृत विवरण दिन सकेनन् । उनले जिल्ला प्रहरी प्रवक्ता डिएसी रामप्रसाद घर्तीमगरसँग सम्पर्क गर्न भने तर डिएसपी घतीले पटकपटक फोनसम्पर्क गर्दा पनि फोन उठाएनन् ।
डिएसपी घर्तीलाई प्रवक्ता तोकिए पनि यसभन्दा अघिल्ला घटना तथा अन्य विषयमा उनले सूचना दिन आनाकानी गरिरहेका हुन्छन् । एसपी राठौर सुधार गृहमा यसअघि पनि बालकहरु हराउने र फेरि सम्पर्कमा आउने गरेको दाबी गर्छन् । यसपटक पनि त्यस्तै हुने उनले बताए ।
तर फरार भएका चारैजना व्यक्तिहरु बालक नभइ १८ वर्षभन्दा बढी उमेरका रहेका र यसअघि पनि बदमासीमा संलग्न रहेका स्रोतले जनाएको छ । फरारहरु बसेको कोठाको भेन्टिलेटरको ग्रीलको नट खोलेर भागेका सुधार गृह स्रोतले जनाएको छ । फरार हुनेहरुमा उच्च अदालत बुटवलले जबरजस्ती करणीमा फैसला गरेका दुईजना, जिल्ला अदालत सुर्खेत र जिल्ला अदालत कैलालीले फैसला गरेका एक\एकजना गरी चारजना हुन् । बिहान सुधारगृहमा बस्नेहरुको गन्ती गर्दा चारजना अपुग भएपछि उनीहरु फरार भएको थाहा भएको हो । सुधार गृहमा बिहान, दिउँसो र साँझ गरी तीनपटक गन्ती हुन्छ ।
फरार भएकाहरु यसअघि पनि सुधारगृहभित्रै बदमासीमा संलग्न रहेका स्रोतले जनाएको छ । उनीहरुले दसैंभन्दा केही दिन अघि पनि बन्दीगृहमा रहेका केही बालकहरुलाई कुटपिट गर्नुका साथै तोडफोड पनि गरेका थिए । त्यसपछि उनीहरुलाई केही दिन जिल्ला प्रहरी कार्यालयमा राखिएको स्रोतले जनाएको छ । सुधारगृह प्रशासनले उनीहरुलाई उमेर बढी भइसकेको अवस्थामा कारागार चलान गरिदिन आग्रह गरे पनि प्रहरीले मानवअधिकारको पक्ष देखाएर त्यसो गर्न नमानेको बताइएको छ ।
‘उनीहरु सुधार गृहमा टाउको दुःखाइ भएका थिए । अरु बन्दीहरुलाई दुःख दिने, कुटपिट गर्ने, गुटबन्दी गर्ने गरेर हैरान पारेका थिए । त्यस कारण उनीहरुलाई अट्याच बाथरुमसहितको अलग्गै कोठामा राखिएको थियो,’ स्रोतले भन्यो । उनीहरुबाट अप्रिय घटना हुने आशंकाका बीच कडा निगरानी गर्दा गर्दै गएराति फरार भएका सुधार गृहकी इञ्चार्ज विमला काउचा बताउँछिन् । बाल सुधार गृहको व्यवस्थापनको जिम्मा युसेफ नामक गैरसरकारी संस्थाले लिएको छ भने सुरक्षाको लागि सादा पोसाकमा नेपाल प्रहरी खटिने गरेको छ ।
बालसुधार गृहबाट उनीहरु फरार भएपछि बाँके आएका लुम्बिनी प्रदेश प्रहरीका डिआइजी नलप्रसाद उपाध्याय पनि सुधारगृह पुगेका थिए । उनले फरारहरुको खोजीकार्य तीव्र पार्न निर्देशन दिएका थिए । एसपी राठौरले फरारहरुको खोजी तीव्र पारिएको बताएका छन् ।