कृष्ण ओली । बाँके ।
छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा कोहलपुरस्थित एक संस्थागत विद्यालयका शिक्षक पक्राउ परेका छन् । कोहलपुर–८ बाबानगरमा रहेको नमुना विद्या सदन माध्यमिक विद्यालयका शिक्षक प्रकाशसिंह ठकुरी बिहीबार पक्राउ परेका हुन् । पीडित बालिकाले दिएको उजुरीका आधारमा शिक्षक ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
उनले ति छात्रालाई एक वर्षदेखि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । जबरजस्ती करणी उद्योग गरेको मुद्दा दर्ता भएपछि शिक्षकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले पुष्टि गरे । ‘बुधबार नै कार्यालयमा शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी परेको थियो,’ उनले मिसन टुडेसँग भने, ‘उजुरीलाई संवेदनशीलरुपमा लिँदै तत्कालै प्रहरी परिचालन गरेका थियौं । आरोपित शिक्षक पक्राउ परिसकेका छन् ।’
शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दिन बुधबार अभिभावकसहित विद्यार्थीहरु विद्यालय पोसाकमै इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थिए । १७ वर्षीया छात्रालाई शिक्षक ठकुरीले एक वर्षदेखि यौन दुव्र्यवहार गर्ने गरेको भन्दै उजुरी परेको डिएसपी मल्लले बताए । ‘पीडितले दिएको उजुरीअनुसार एक वर्षयता आरोपित शिक्षकले यौन दुव्र्यवहार गर्ने देखिन्छ,’ उनले भने, ‘उहाँहरुले उजुरी दिनुभएको छ । यसमा अनुसन्धान भइरहेको छ । नयाँ केही कुरा भए केही दिनमा खुल्न सक्छ ।’ पछिल्लोपटक शिक्षकले छात्रालाई कोहलपुरमा रहेको एक कार्यक्रमबाट घर फर्किने क्रममा यौन दुव्र्यवहार गरेका थिए ।
एक वर्षयता निरन्तर यौन दुव्र्यवहार र मानसिक तनाव दिन थालेपछि छात्राले अभिभावक र केही आफ्ना साथीहरुलाई जानकारी दिएकी थिइन् । ‘पक्राउ परेका शिक्षकले छात्रालाई गलत तरिकाले छुने (ब्याड टच), संवेदनशील अंगमा छुनेलगायतका क्रियाकलाप गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने, ‘छात्राले अति नै भएपछि अभिभावक तथा साथीलाई भनेको देखिन्छ ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले पीडित छात्राको मेडिकल गरिएको जानकारी दिए । ‘उजुरी परेपछि आरोपितलाई पक्राउ गर्नुका साथै पीडित छात्राको मेडिकल गरेका छौं,’ उनले मिसन टुडेसँग भने, ‘मेडिकल रिपोर्ट भने अझै आइसकेको छैन ।’
छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ शिक्षक ठकुरीलाई बाँके जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरी निरीक्षक मल्लले बताए । कोहलपुर प्रहरीले पक्राउ परेका शिक्षकले अन्य छात्रामाथि समेत यौन दुव्र्यवहार गरेको हुनसक्ने आंशकामा अनुसन्धानसमेत अगाडि बढाएको जनाएको छ । ‘विद्यालयका अन्य छात्रामाथि समेत यौन दुव्र्यवहार भएको हुनसक्छ,’ एक प्रहरीले भने, ‘गोप्यरुपमा हामीले त्यसतर्फ समेत अनुसन्धान अगाडि बढाएका छौं ।’
विद्यार्थी संगठनहरुद्वारा कारबाहीको माग
विद्यार्थी संगठनहरुले समेत छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ । बिहीबार नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) बाँकेले संयुक्त विज्ञप्ति जारी गरेर घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।
‘संयुक्त विद्यार्थी संगठन शैक्षिक संस्थालाई पूर्णरुपमा शान्ति क्षेत्र, शैक्षिक क्षेत्र बनाउन प्रतिबद्ध छ ।
तसर्थ शैक्षिक संस्थामा हुने हिंसा तथा अपराधिक गतिविधिको घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि कोहलपुर–८ मा अवस्थित नमुना विद्या सदनमा अध्ययनरत छात्रामाथि उक्त विद्यालयका शिक्षकले निरन्तर बाल यौन शोषण गर्दै आएको कुरा जानकारीमा आएकाले संयुक्त विद्यार्थी संगठनको ध्यानकर्षण भएको छ ।’ शैक्षिक संस्था जस्तो पवित्रस्थलमा यस्ता घृणित कार्यले सिंगो शैक्षिक क्षेत्रलाई आघात पुगेको संयुक्त विद्यार्थी संगठनहरुले बताएका छन् ।
‘यस्ता अपराधिक घटनामा संग्लन जो कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ । यदी प्रशासनले कारबाही गतिलाई ढिलाइ गरेमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने कुरा जानकारी गराउन चाहान्छौं । त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।
भाग्दाभाग्दै पक्राउ
यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक प्रकाशसिंह ठकुरीलाई प्रहरीले राप्तीपारि क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । उजुरी परेको सूचनालगत्तै कोहलपुरबाट फरार भएका ठकुरी राप्तीसोनारी गाउँपालिका–६ को फत्तेपुरबाट बिहीबार पक्राउ परेका हुन् ।
‘उजुरी परेसँगै आरोपित शिक्षक भाग्नसक्ने सम्भावना थियो ।
त्यहीअनुसार नै हामीले नियन्त्रणको योजना बनाएका थियौं,’ कोहलपुर प्रहरी स्रोतले भन्यो, ‘नभन्दै कोहलपुरबाट भागेर लुकीछिपी फत्तेपुरमा बसेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’ प्रहरीले समयमै सर्तकता अपनाएका कारण आरोपित शिक्षक भारततर्फ भाग्न भने पाएका थिएनन् । प्रहरीले भारततर्फ भाग्नसक्ने अनुमान गर्दै सीमा क्षेत्रमा कडा निगरानी गरेको थियो ।