7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सांसद नमुनाको पहलमा राप्तीसोनारी र नरैनापुरमा टेलिकमका टावर थप र स्तरोन्नती गरिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १३, २०७९  

बाँके ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका थप टावर निर्माण र स्तरोन्नती हुने भएका छन् । टेलिफोन सेवालाई गुणस्तरीय बनाउन प्रदेश सांसद कृष्णा केसी (नमुना)को पहलमा थप टेलिफोनका टावर निर्माण हुन थालेका हुन् । थप टावरहरुको स्थापना र भएका टावरहरुको क्षमता वृद्धिका लागि सांसद नमुनाले नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग छलफलसमेत गरिसकेकी छिन् ।

नेटवर्कले काम नगर्ने स्थानमा थप टावरहरु स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने विषयमा छलफल भएको सांसद नमुनाले मिसन टुडेलाई जानकारी दिइन् । ‘राप्तीसोनारी र नरैनापुरमा टेलिफोन सेवा गुणस्तरीय बनाउन मैले जनताका समस्यालाई प्रवन्ध निर्देशक कहाँ पु¥याएकी हुँ,’ काठमाडौंमा रहेकी उनले फोन सम्पर्कमा भनिन्, ‘समस्या समाधानका विषयलगायतमा समेत कुराकानी भयो ।’

प्रवन्ध निर्देशक पौडेलसँग कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावरहरु राख्ने सहमति भएको सांसद नमुनाले बताइन् । ‘सबै क्षेत्रमा टेलिफोनको पहुँच पु¥याउन यसै साताबाट सर्वेसमेत सुरु गर्ने प्रवन्ध निर्देशकसँग सहमति भएको छ,’ उनले भनिन्, ‘अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको छ । यी कामहरु अब तत्काल नै सुरु हुन्छ ।’

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावरहरु राख्नुपर्ने उनले बताइन् । सांसद नमुनाले राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरहरुका क्षमता कम भएकोले वृद्धि गर्नुपर्ने समेत प्रवन्ध निर्देशक पौडेललाई जानकारी गराएकी थिइन् ।

प्रवन्ध निर्देशक पौडेलले राजमार्गमा थप टावर स्थापना गरिने र टावरहरुको क्षमता वृद्धिसमेत गरिने प्रतिबद्धता जनाएका थिए । ‘थप टावरहरु स्थापना र भएका टावरहरुको क्षमता वृद्धि गर्ने सहमति भएको छ । सो विषयमा माथिबाट निकायबाट तल्लो तहमा समेत निर्देशन भइसकेको छ,’ उनले भनिन्, ‘यही साताबाटै सर्वेको काम समेत सुरु हुन्छ ।’

निर्वाचनमा मतदाताको घरदैलोमा पुग्दा मतदाताले फोन टावर नहुने, टावर भए पनि कुरा हुन नसक्ने गुनासो आएपछि टावर थप गर्नको लागि पहल थालेको सांसद नमुनाले बताइन् । करिब चार वर्ष अगाडि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्वेले सातवटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो ।

केही स्थानमा टावर बने पनि अधिकांश स्थानमा टावर बन्न नसकेको सांसद नमुनाले बताइन् । ‘टावर निर्माणका लागि सर्वे भएर टेण्डर आह्वान भए पनि बाँके निकुञ्ज र वनका कारण काम अगाडि बढ्न सकेको थिएन,’ उनले भनिन्, ‘अब जनतालाई सेवा दिने कामका लागि हुने विकास निर्माणमा निकुञ्ज र वनले अवरोध गर्नुहुँदैन ।’

जनतालाई सहज हुनेगरी टावर राख्न आउने समस्या समाधानका लागि आफू लागिपर्ने सांसद नमुनाले बताइन् । खासगरी राजमार्ग क्षेत्रमा थप टावरहरु स्थापना गर्दा निकुञ्ज र वनका कारण समस्या देखिएको बताउँदै उनले सरोकारवालासँग छलफल गरेर समस्या समाधान गरिने उनले दाबी गरिन् ।

प्रकाशित मितिः बुधबार, पुस १३, २०७९     11:14:57 AM  |