16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

छैठौं मेयर कपः त्रिभुवन माविलाई दोस्रोपटक उपाधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

छैठौं नगर मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा १५औँ कोहलपुर पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिभुवन नमुना माध्यमिक विद्यालयले जितेको छ । पाँचौ मेयर कपमा दोस्रो स्थान हासिल गरेको त्रिभुवन मावि सात स्वर्ग जित्दै छैठौं मेयर कपको उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा सबैभन्दा धेरै सातवटा स्वर्ग पदक त्रिभुवन माविले जित्यो । साथै त्रिभुवन माविले चार रजत र दुई कास्य पदक पनि जितेको छ । उसले कूल ५० हजार नगद पुरस्कारसहित मेयर कपको ट्रफी उचाल्न सफल भएको छ । योसँगै त्रिभुवन माविले दोस्रोपटक मेयर कपको उपाधि जितेको छ । यसअघि त्रिभुवन माविले चौथो मेयर कपको उपाधि जितेको थियो ।

साविक विजेता गोर्खा युनाइटेडलाई पछि पार्दै त्रिभुवन सबैभन्दा धेरै मेयर कप जित्ने दोस्रो विद्यालय बनेको छ । यसअघि मेयरमा आफ्नो दबदबा कायम राख्दै उपाधि जित्दै आएको गोर्खा यसपटक टप थ्रीमा समेत पुग्न सकेन । गोर्खा साविक विजेतासमेत हो । पाँचौ मेयर कपमा त्रिभुवन मावि दोस्रो भएको थियो ।

अहिलेसम्म सबैभन्दा धेरै मेयर कप जित्ने विद्यालय भने गोर्खा युनाइटेड नै हो । गोर्खाले सबैभन्दा धेरै चारपटक मेयर कपको उपाधि जितेको छ । लगातार तीनपटक मेयर कप रनिङ शिल्डमा उपाधि जित्दै गोर्खा युनाइटेड स्कुलले ह्याट्रिक गरेको थियो । गोर्खाले २०७४, २०७५ र २०७६ मा लगातार उपाधि जितेको थियो । त्यसपछि २०७८ मा पाँचौ मेयर कपसमेत जित्यो ।

छैठौं मेयर कपमा भने नयाँ विद्यालय उदाए । प्रतियोगितामा चप्परगौडीस्थित ग्रीनपिस विद्यालय पाँच स्वर्ण, तीन रजत र ६ कास्यसहित दोस्रो भयो । चार स्वर्ण, दुई रजत र चार कास्य पदक जित्नै डायनामिक माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको छ । दुवैले ट्रफी र नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा १३ सामुदायिक र २४ संस्थागत विद्यालयका ११ सय ५६ जना खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा अनुशासित विद्यालयको रुपमा कृष्ण मावि पुरस्कृत भएको छ । कृष्ण माविले प्रतियोगिताको व्यवस्थापन र सञ्चालनको जिम्मा पाएको थियो । मार्च पासमा भने दिव्य विद्या सदन मावि प्रथम भयो । शान्त र मर्यादितरुपमा प्रतियोगिता सम्पन्न भएको कृष्ण माविका प्रधानाध्यापकसमेत रहेका प्रतियोगिताका सदस्य सचिव दीलिप ओलीले जनाए ।

प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना र कृष्ण मावि कौशिलानगरको व्यवस्थापनमा सम्पन्न भएको हो । नगर मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा खेलाइएका १५ खेल खेलाइएको थियो । समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले मेयर कपले कोहलपुर नगरपालिकाको खेलकुद क्षेत्रलाई चलायमान बनाउन भूमिका खेल्ने बताइन्् ।

उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न सघाउ पुगेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले पुस ८ गते उक्त प्रतियोगिता उद्घाटन गरेका थिए ।

सर्वोत्कृष्ट खेलाडी बनिन् तुलसा

पुस ८ गतेदेखि सुरु भएर सोमबार सम्पन्न प्रतियोगितामा ग्रीनपिस माविकी छात्रा तुलसा दमाई सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले प्रतियोगिताभरि व्यक्तिगत चार स्वर्ण पदक जितिन् । तुलसा प्रतियोगितामा सहभागी एक हजार एक सय ५६ जना खेलाडीमध्ये सर्वोत्कृष्ट खोलाडी घोषित भएकी हुन् ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएकी तुलसाले नगर प्रमुख पूर्णप्रसाद आचार्यद्वारा घोषित ५१ हजार पुरस्कारसमेत हात पारिन् । प्रतियोगिताका मूल आयोजक समितिका संयोजकसमेत रहेका नगरप्रमुख आचार्यले प्रतियोगिताको उद्घाटन समारोहमा सबैभन्दा उत्कृष्ट हुने खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार समापन सत्रमा नगरप्रमुख आचार्यले उक्त पुरस्कार तुलसालाई प्रदान गरेका हुन् ।

पुरस्कृत हुने तुलसा ग्रीनपिस माविमा कक्षा १० मा अध्ययनरत छिन् । तुलसा एक सय, दुई सय मिटर लंगजम्प र चार बाइ एक सय मिटर रिलेमा व्यक्तिगत उपाधि जित्न सफल भइन् । उनी सानैदेखि खेलकुदमा सक्रिय छिन् । तुलसाले पुरस्कारबापतको पैसा पढाइ र खेलकुदमा खर्च गर्ने बताइन् ।

 

प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७९     10:58:36 AM  |