संघले राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज हुनुपर्ने, वर्षमा एकपटक चालू पूँजी ऋण चुक्ता गर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, चालु रहेको ओभरड्राफ्ट ऋण यथावत राख्नुपर्ने, कारोबारको आधारमा कर्जा दिने प्रावधान खारेज गर्नुपर्ने, बैंक ब्याज एक अंकमा सीमित गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आज सोमबार नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि धर्ना दिने भएको छ । संघले राष्ट्र बैंकको अव्यहारिक नीतिविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत धना दिने भएको हो ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत हातमा कालो पट्टीसहित प्रदर्शन, संघको प्रांगणबाट बजार परिक्रमा गर्दै राष्ट्र बैंक अगाडि धर्ना दिइने कार्यक्रम रहेको संघका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । आज बिहान १० बजे संघको प्रांगणमा उपस्थित हुन संघले सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई उनले आग्रह गरेका छन् ।
संघले राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज हुनुपर्ने, वर्षमा एकपटक चालू पूँजी ऋण चुक्ता गर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, चालु रहेको ओभरड्राफ्ट ऋण यथावत राख्नुपर्ने, कारोबारको आधारमा कर्जा दिने प्रावधान खारेज गर्नुपर्ने, बैंक ब्याज एक अंकमा सीमित गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।
पहिलो चरणको आन्दोलनमा पनि संघले पत्रकार सम्मेलन र राष्ट्र बैंकअगाडि प्रदर्शन लगायतका कार्यक्रम गरेको थियो । बैंकको नीतिले व्यवसायीहरु धराशायी भइरहेका र राष्ट्र बैंक मुकदर्शक भइरहेको संघले आरोप लगाएको छ ।