काठमाडौं ।
नेकपा एमालेले सरकार गठनको पहल सुरू गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरू गरेको हो।
एमालेसँगको छलफलमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अशोक राई बालकोट पुगेका हुन्। नेकपा एमालेले माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार निर्माणका लागि केही दिन यता पहल बढाउँदै आएको थियो।
माओवादीले गठबन्धन तोडेर आए सरकार निर्माणका लागि छलफल गर्ने उसको तयारी थियो। आइतबारको छलफलमा प्रचण्डलाई पहिलो कार्यकाल नदिने अडान देउवाले राखेपछि गठबन्धनको औचित्य नरहेको भन्दै प्रचण्ड बाहिरिएका थिए।
एमालेले पहिलो कार्यकाल प्रचण्डलाई दिँदै राष्ट्रपति आफूले राख्ने प्रस्ताव यसअघिका छलफलमा गरेको थियो। माओवादी(एमाले गठबन्धन निर्माणका एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता अग्रसर थिए भने माओवादी केन्द्रबाट वर्षमान पुनले एमालेका नेताहरूसँग वार्ता गर्दै आएका थिए।
सरकार निर्माणमा बहुमत पुर्याउन १ सय ३८ संख्या आवश्यक छ। यदि बालकोटमा सहमति जुटे सरकार निर्माणमा यो गठबन्धनलाई १ सय ५६ संख्या पुग्छ। संसदमा एमालेको ७८, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट छ।