12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

प्रभात माविलाई प्रथम बैजनाथ उपप्रमुख कपको उपाधी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १०, २०७९  

कोहलपुर (बाँके) ।

प्रथम उपप्रमुख कप बैजनाथ गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग र खेलकुद विकास समिति बैजनाथको आयोजनामा उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगिता पुस ६ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा सहभागी विद्यालयमध्ये प्रभात माविले सबैभन्दा धेरै पदक जितेको छ ।

उक्त विद्यालयले कुल नौ स्वर्ण, तीन रजत र तीन कास्यसहित प्रतियोगिता मै प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ । यस्तै चार स्वर्ण, दुई रजत र एक कास्यसहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपुर द्वितीय र दुई स्वर्ण, एक रजत र एक कास्य प्राप्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुर तृतीय भएको छ ।

आधारभूत तहका विद्यार्थीबीच भएको प्रतिस्पर्धामा दुई स्वर्ण जित्दै प्रभात मावि प्रथम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपुर द्वितीय र रारा आधारभूत विद्यालय तृतीय भएका छन् । छात्रतर्फ भने दीपज्योति मावि एक स्वर्ण र दुई रजत पदकसहित प्रथम, हिमालय विद्या निकेतन एक स्वर्ण र एक रजतसहित द्वितीय र जनता मावि एक स्वर्णसहित तृतीय भएका छन् । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट एथ्लेटिक्स खेलाडी प्रभात माविका प्रेमबहादुर रम्तेल र छात्रातर्फ दीपज्योति विद्या निकेतनकी एलिसा बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको आयोजक समितिका सदस्य लालबहादुर बोहराले बताए ।

प्रथम उपप्रमुख कप बैजनाथ गाउँपालिका अन्तर विद्यालयस्तरीय प्रतियोगिता गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले भव्य उद्घाटन गरेका थिए । प्रतियोगिताको समापन सत्रको प्रमुख आतिथ्यता पनि अध्यक्ष शाहीले नै गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष शाहीले प्रतियोगितामा विद्यार्थीहरुको अर्थपूर्ण सहभागिता भएको बताए । आगामी दिनमा प्रतियोगितालाई थप प्रभावकारी बनाइने उनको भनाइ छ । उनले बैजनाथका खेलाडीहरुलाई राष्ट्रियस्तरमा चिनाउन गाउँपालिका लागि पर्ने उनले जनाए ।

उक्त अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले प्रतियोगितामा लुकेका धेरै प्रतिभाको प्रतिभा पहिचान भएको बताइन् । खेलकुद गाउँपालिकाको प्रमुख प्राथमिकता भएको उपाध्यक्ष रोकायको भनाइ छ । खेलकुद विकास समिति संयोजक महावीर थारुले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग र खेलकुद विकास समिति बैजनाथको आयोजनामा विभिन्न १५ विधामा खेल खेलाइएको खेलकुद विकास समिति संयोजक थारुले बताए । प्रतियोगितामा बैजनाथ गाउँपालिकाका ४४ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः आइतवार, पुस १०, २०७९     2:51:13 PM  |