कोहलपुर : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम सेमेस्टारका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह दोस्रो सेमेस्टारमा अध्ययन विद्यार्थीहरुको आयोजनामा शुक्रबार स्नातक तह प्रथम सेमेस्टारका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको हो । स्वागत कार्यक्रमको क्याम्पसका निमित्त प्रमुख शिशिर कुमार शर्माले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले क्याम्पसमा नयाँ आउने विद्यार्थीहरुलाई स्वागत गर्ने शैली सकारात्मक रहेको बताए । यस्ता कार्यक्रमले विद्यार्थीहरुबीच आत्मियता बढाउने उनको भनाइ थियो ।
कार्यक्रमको अवसरमा विभिन्न विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेको भन्दै प्रतिभा पहिचान गर्ने माध्यमको रुपमा समेत कार्यक्रम रहेको उनले बताए ।‘यो राम्रो अभ्यास हो । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । यसले विद्यार्थीहरुमा आत्मियता बढाउँछ,’ उनले भने । उक्त अवसरमा विभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थी नेता युवराज विष्टले स्वागत संस्कृति विद्यार्थीहरुको पहिचानको रुपमा रहेको बताए । उनका अनुसार नयाँ आउने विद्यार्थीहरुलाई स्वागत गरिनु राम्रो कुरा हो ।
अनेरास्ववियूका अध्यक्ष महेन्द्र प्रकाश मल्लका अनुसार बागेश्वरी क्याम्पस शैक्षिक हब हो । त्यसैले सम्पूर्ण विद्यार्थी संगठन मिलेर विद्यार्थीहरुको हकहितका लागि काम गर्नुपर्ने उनले बताए । अखिल क्रान्तिकारी एकाइ अध्यक्ष दीपेन्द्र शाहीले दोस्रो सेमेस्टारका विद्यार्थीले आयोजना गरेको कार्यक्रम निकै राम्रो भएको प्रतिक्रिया दिए । यस्तै उक्त अवसरमा बोल्दै अनेरास्ववियूका विद्यार्थी नेता सुमन घिमिरेले बागेश्वरी क्याम्पस उत्कृष्ट शैक्षिक थलो रहेको बताएका थिए । उनका अनुसार विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसको हकहितका लागि विद्यार्थीहरुको चौतर्फी विकासका लागि काम गरिरहेका छन् ।
स्वागत कार्यक्रमको अवसरमा विद्यार्थीहरुले एकल गीत, नृत्य तथा गजल, मुत्तकका साथै मनोरञ्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रम स्नातक तह दोस्रो सेमेस्टारमा अध्ययनरत विद्यार्थी प्रतिभा पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम स्नातक तह दोस्रो सेमेस्टारमा अध्ययनरत विद्यार्थी शान्ति सुनार र सन्तोष महतले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा प्रध्यापकहरुको सहभागिता रहेको थियो ।