बाँके ।
लगातार उतारचढावमा रहेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । सोमबारको सामान्य वृद्धिलाई साथ मिल्नेगरि मंगलबारको बजार सकारात्मक बनेको थियो । मंगलबार १४.२२ अंकको वृद्धिसहित बजार १८७३.११ बिन्दुमा पुगेको हो ।
९३ करोड ८ लाख रुपैयाँको कारोबार हुँदा १५२ कम्पनीको सेयर मूल्य बढेको थियो । ४६ कम्पनीको सेयर मूल्यमा कमी आएपनि १३ कम्पनीको मूल्य परिवर्तन भएन । बैंकिङ ६, विकास बैंक ८, फाइनान्स ६, होटल तथा पर्यटन ६४, जलविद्युत् १४, जीवन बीमा ८३, उत्पादन २२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा २७, अन्य ३४ र व्यापार उपसमूह १५ अंक बढेका थिए ।
तीन लघुवित्त कम्पनीहरु आँधिखोला, सिर्जनशील र धौलागिरिको मूल्य १० प्रतिशत बढेको थियो । सीवाईसी लघुवित्तको मूल्य ७.८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, सिभिल बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र फरवार्ड माइक्रोफाइनान्स क्रमशः अगाडि रहेका थिए ।
गएको साता ३४.६७ अंकको गिरावट देखिएको बजारमा यो साता आइतबार नै २७.५४ अंकको गिरावट देखियो । गएको केही कारोबारयता कारोबार रकममा भने सुधार हुन सकेको देखिँदैन । लगानीकर्ताहरू अझै पनि पर्ख र हेरकै स्थितिमा रहेको देखिन्छन् । विश्लेषकहरूका अनुसार विश्वासयोग्य वातावरणको पर्खाइमा लगानीकर्ता रहेका छन् ।
लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिइरहँदा बजारमा वृद्धि देखिएको हो । उतारचढावपूर्ण बजारमा देखिएको अवस्थाले नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने विश्लेषकहरू बताउँछन् । नयाँ सरकार गठनपछि मात्रै बजारले लय लिने उनीहरूको भनाइ छ ।