18 September 2024  |   बुधबार, अशोज २, २०८१

पुजा मृत्यु प्रकरणः श्रीमान् र ससुरा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ६, २०७९  

कोहलपुर ।

मंसीर २७ गते शंकास्पद मुत्यु भएकी जानकी गाउँपालिका वडा नम्बर ६ की पुजा लोनियाँको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । उनका श्रीमान् राजकुमार र ससुरा ध्रुव पक्राउ परेका हुन् । पुजाले विष सेवन गरेर आत्महत्या गरेको घर परिवारले दाबी गर्दै आएको छ । पुजाले विषय सेवन नगरेको र घर परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।

माइती पक्षले मंसीर २९ गते श्रीमान् राजकुमार र ससुरा ध्रुवविरुद्ध कर्तव्य ज्यान मार्ने उद्योगमा ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटना लगत्तै प्रहरीले पुजाका श्रीमान् राजकुमारलाई पक्राउ गरेको थियो ।

जाहेरी परेपछि पुजाका ससुरा ध्रुवलाई पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बताए । उक्त घटनाबारे प्रहरीले छानबिन गरिरहेको उनले बताए । हाल प्रहरी हिरासतमा रहेका राजकुमार र धुव्रलाई सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको मल्लले बताए ।

नेपालगन्ज–२३ जयनपुरमा माइती घर भएकी २३ वर्षीय पुजाको पाँच वर्षअघि राजकुमारसँग विवाह भएको थियो । उनीहरुबाट एक छोरा र एक छोरी छन् । पुजाका माइती पक्षको दाबीअनुसार राजकुमारका परिवारले पुजालाई दाइजोको लागि दबाब दिँदै आएका थिए । राजकुमारले पुजालाई कुटपिट गर्नेलगायत मानसिकरुपमा यानता दिने गरेको पनि किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः बुधबार, पुस ६, २०७९     9:25:45 AM  |