18 September 2024  |   बुधबार, अशोज २, २०८१

डुडुवाको नीति तथा कार्यक्रम र बजेट पारित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस ६, २०७९  

नेपालगन्ज (बाँके) ।

डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १२औँ गाउँसभाले एकवटा विधियेक, नीति तथा कार्यक्रम र ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मतरुपमा पारित गरेको
हो । सोमबार प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि मंगलबार बसेको पुनः बैठकमा छलफल गरी सर्वसम्मतरुपमा पारित भएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निमार्णलगायतका १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवद्र्धन, एसईई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रतिछात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ सञ्चालन तथा प्राचीन मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद एवम् गुरुद्वाराहरुको संरक्षण, मर्मतसम्भार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घरघर स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

यसैगरि ‘ग’ र ‘घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिकरुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐनबमोजिम कार्य प्रक्रिया अगाडि बढाउने, बाढी र डुबानको उच्च जोखिममा रहेका बस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नम्बर ६ महाउत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आर्थिक वर्षमै सम्पन्न गरी किसानको आलु बिउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाइने गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्करुपमा वितरण, उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधान, नश्ल सुधार गरी कृषकको आम्दानीमा वृद्धि गर्नेलगायत छ ।

सभामा विधियेक समितिका संयोजक शम्सुद्दीन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरेका थिए । सोमबार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि मंगलबार थप छलफल गरी सर्वसम्मतरुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष चौधरीले जनाए ।

प्रकाशित मितिः बुधबार, पुस ६, २०७९     9:18:27 AM  |