18 September 2024  |   बुधबार, अशोज २, २०८१

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिदैं कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७९  

कोहलपुर ।

कोहलपुर नगरपालिकाले नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको एम्बुलेन्समार्फत कोहलपुरमा स्थायी ठेगाना भएका सुत्केरी महिलाहरुलाई निःशुल्क सेवा प्रदान गरिने भएको हो ।

मंसीर २७ गते बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाअन्तर्गत स्वास्थ्य चौकीमा नियमित तीन पटकभन्दा बढी (एएससी) चेकजाँच गरेका र कोहलपुरमा स्थायी ठेगाना भएका महिला सुत्केरी हुँदा निजको घरदेखि अस्पतालसम्म लैजाँदा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ ।

नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुत्केरी अवस्थामा हुने जोखिम र समस्यालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको हो । यस्तै उनले कोहलपुर नगरपालिकावासीलाई सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरिएको पनि बताए । अन्यको हकमा भने जिल्ला एम्बुलेन्स दररेटबमोजिमको शुल्क लिइनेछ । कोहलपुर नगरपालिकाको दमकल र एम्बुलेन्स नगर प्रहरीको सहयोगमा २४सैँ घण्टा सञ्चालन हुन सक्ने गरी तयारी अवस्थामा रहने पनि नगर प्रमुख आचार्यको भनाइ छ ।

‘एम्बुलेन्स सेवा सर्वसुलभ हुनेछ । सबै नगरवासीले जतिबेला पनि प्रयोग गर्न पाउँछन् । स्थानीय सरकारले दिएको सेवा लिन सबैलाई आग्रह गर्न चाहन्छुँ,’ उनले भने । यस्तै एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरिने पनि कार्यपालिकाले निर्णय गरेको छ । एम्बुलेन्स चलाउने एकजना चालक भने नगर प्रमुखको सिफारिसमा ज्यालादारीमा कामकाजमा लगाउने निर्णय कार्यपालिकाले गरेको हो ।

कोहलपुरमा एम्बुलेन्स खरिद गरेको लामो समय भइसकेको छ । यसअघि एम्बुलेन्स सञ्चालन गर्ने कार्यविधि नबन्दा खरिद गरेको चार महिनाभन्दा बढी एम्बुलेन्स थन्किएको थियो । तर मंसीर २७ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार एम्बुलेन्स सञ्चालनसम्बन्धी थप विषय सामाजिक विकास समितिले गरेको निर्णयअनुसार हुने भनिएको छ ।

लूटबहादुर रावत प्रमुख भएका बेला गत वैशाखमा नगरपालिकाले टेण्डरमार्फत ४४ लाख ९० हजार रुपैयाँमा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गरेको थियो । हाल कोहलपुर नगरपालिकाअन्तर्गत रहेका १५ वटा स्वास्थ्य संस्था छन् । एउटा पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन ।

१५ वटा वडा रहेको नगरपालिकामा तीन स्वास्थ्य चौकी, ११ वटा आधारभूत स्वास्थ्य केन्द्र, दुईवटा बर्थिङ सेन्टर र एउटा सहरी स्वास्थ्य केन्द्र छन् । अहिले १५ बेडको नगर अस्पताल निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मितिः मङ्लबार, पुस ५, २०७९     1:55:24 PM  |